कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारलाई माधव नेपालको आग्रह

काठमाडौँ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गरी नेता नेपालले सरकारको यो निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता गर्न माग गरेका हुन् ।

उनले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएकोसमेत उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ’संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरूले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।’

सबै संक्रमितको उपचार सरकारले गर्नुपर्नेमा त्यसो नगर्दा जनतामा मारमा परेका उनको भनाई थियो । उनले भनेका छन्, ’संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय बिल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रूपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले सबै नागरिकको उपचार नगर्ने निर्णय लिएको जानकारी केही दिनअघि दिएका थिए । त्यसलगत्तै सरकारले सरकारी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारवापतको रकम संक्रमितबाट उठाउन निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *