दसैं भत्ता दिएर सरकारले सांसदहरूलाई बदनाम गरायोः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले दसैं भत्ता दिएर सरकारले सांसदहरूलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

सोमबार विज्ञप्ति जारी गरी सिंहले महामारीका बेला सांसदहरूलाई भत्ता दिएर सरकारले आफूजस्तै सांसदलाई पनि जनतामाझ आलोचित बनाएर बदनाम गराउन खोजेको आरोप लगाएका हुन् ।

भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले सांसदहरूलाई दसैं भत्ता दिएर बदनाम गराउने दुरासय राखेको प्रष्ट देखिएको सिंहले बताएका छन्।

उनले भनेका छन्, ‘एकातिर जनतालाई पिसिआर परीक्षणसमेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय छ ।’ उनले दसैं भत्ताका नाममा आफ्नो खातामा आएको रकम फिर्ता गर्ने पनि बताएका छन् ।

उनले भनेका छन्,‘दसैं भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु। सांसदहरुलाई आएको दसैं भत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *