कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका डच राजपरिवारका सदस्य भोलिपल्टै स्वदेश फर्किएका छन् । राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर लागेका थिए तर शनिवार साँझ नै फर्किएका छन् ।
नयाँ आंशिक लकडाउन लगाउन शुरू गरिएका बेला उनीहरू ग्रीसतर्फ लागेका थिए । उनीहरूले कुनै नियम तोडेका थिएनन् तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको उनीहरूले बताए ।
प्रधानमन्त्री मार्क रुट उनले दिएको हुनसक्ने सुझावका कारण दबाबमा परेका छन् । कोभिड १९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न सुझाइएका बेला सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो । त्यसपछि उनीहरू पहिले केएलएमको नियमित उडानबाट स्वदेश फर्किएका थिए ।
सरकारमा बसेका कसलाई राजकीय बिदा मनाउनेबारे जानकारी थियो र राजपरिवारलाई कुनै सुझाव दिइएको थियो कि थिएन भन्नेबारे केही अन्यौल पैदा भएको छ । नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ ।
त्यसैले कतिपय सांसदहरूले प्रधानमन्त्रीले राजपरिवारका सदस्यलाई उनीहरूको बिदा रद्द गर्ने सुझाव दिए कि दिएनन् भन्नेबारे स्पष्टिकरण दिन आग्रह गरेका छन् । नेदरल्यान्डमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।
शनिवार मात्रै ८ हजार भन्दा बढी नयाँ केस थपिएका थिए । जसका कारण बार, रेस्टुराँ र कफी शपहरू चारहप्ताका लागि बन्द गरिएका छन् । राजकीय जोडी उनीहरूको व्यवहारका कारण सार्वजनिक बहसमा आएको यो पहिलोपटक भने होइन ।
अगष्ट महिनामा अघिल्लो ग्रीस भ्रमणक्रममा रेस्टुराँमा उनीहरूले सामाजिक दूरीको नियम भङ्ग गरेको तस्बिर सार्वजनिक भएको थियो । विपक्षी सांसदहरूको बढ्दो दबाबका बीच राजपरिवारको वार्षिक बजेटको समीक्षा भइरहेको छ ।