अमेरिकामा सन् १९५३ यता पहिलोपटक महिलालाई मृत्युदण्ड दिइँदै

संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती महिलाको हत्या गरेर पेट चिरेर पेटभित्रको बच्चाको अपहरण गरेकी थिइन् ।

उनलाई डिसेम्बर ८ का दिन इन्डियानामा प्राणघातक सुई लगाइने भएको छ । मृत्युदण्डसम्बन्धी सूचना सङ्कलन गर्ने केन्द्र ’डेथ पेनाल्टी इन्फर्मेशन सेन्टर’का अनुसार यसअघि संयुक्त राज्य अमेरिकाले बनी हेडीलाई मिसोरीमा सन् १९५३ मा मृत्युदण्ड दिएको थियो । दुई जना मन्त्रीहरूको हत्या गरेका ब्र्यान्डन बर्नार्डलाई पनि डिसेम्बरमा मृत्युदण्ड दिने तय गरिएको छ ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले ती अपराधहरू जघन्य भएको बताए । ट्रम्प प्रशासनले गतवर्ष मृत्युदण्ड पुनः शुरू गर्ने बताएको थियो । न्याय मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार डिसेम्बर २००४ मा मन्टगमरी कुकुरको बच्चा किन्ने भन्दै क्यान्ससदेखि मिसोरीस्थित बबी जो स्टिनेटको घर पुगेकी थिइन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घरभित्र पुगेपछि मन्टगमरीले आठ महिनाकी गर्भवती स्टिनेटमाथि आक्रमण गरिन् र बेहोस बनाइन्।’ ‘त्यसपछि भान्छामा प्रयोग गर्ने चक्कु प्रयोग गरेर स्टिनेटको पेट चिरिन्। त्यसो गर्दैगर्दा स्टिनेटको होस फक्र्यो । त्यसपछिको सङ्घर्षमा स्टिनेट मारिइन् । त्यसपछि मन्टगमरी पेटको बच्चा झिकेर आफ्नै बच्चा हो भन्ने प्रयत्नमा लागिन्।’

सन् २००७ मा उनलाई न्यायाधीशको जूरीले उनलाई अपहरण र हत्यामा दोषी ठहर गर्दै सर्वसम्मतिले मृत्युदण्डको निर्णय गर्यो । तर मन्टगमरीका वकिलहरूले उनले आफ्नो बच्चा छँदा खाएको पिटाइका कारण उनको दिमागमा असर परेको र उनी मानसिक रूपमा बिरामी रहेकाले मृत्युदण्ड दिन नहुने तर्क प्रस्तुत गरेका थिए ।

अमेरिकी न्याय प्रणाली अनुसार अपराधहरू केन्द्रीय तहमा वा राज्य तह दुवैमा अनुसन्धान गर्न सकिन्छ । मुद्राको अपचलन र वा चिठीपत्र चोरी स्वतः सङ्घीय तहमा मुद्दा चलाइन्छ। अरू अपराधको चाहिँ प्रकृति हेरेर सङ्घीय तहमा लगिन्छ ।

सन् १९७२ मा मृत्युदण्ड राज्यस्तरीय र सङ्घीय दुवै तहमा सन् १९७२ को सर्वोच्च अदालतको एक निर्णयबाट गैरकानुनी बनाइएको थियो र त्यसबेला थाती रहेका सबै मृत्युदण्ड रद्द गरिएको थियो । सन् १९७६ को सर्वोच्च अदालतको अर्को निर्णयले भने राज्यहरूलाई मृत्यु दण्ड पुनःस्थापित गर्ने अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *