अनिल गुरुङको प्रश्नः खेलाडीलाई बलिको बोका बनाइएको हो ?

प्रज्जवल थापा । कोरोना भाइरस महामारीका कारण यतिबेला खेलकुद गतिविधि ठप्प छन् । अहिले सामाजिक सञ्जालमा विभिन्न खेलाडीले सरकारमाथि प्रश्न गरिराखेका छन् । मंगलबार राष्ट्रिय टोलिका कप्तान किरण चेम्जोङले सरकार र राखेपलाई फेसबुकमार्फत खुला पत्र लेखेका थिए ।

त्यस्तै बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले फेसबुकमा सरकार र राष्ट्रिय खेलकुद परिषद(राखेप) माथि दुखेसो पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै खेल स्थललाई सुटिङ स्थल बनाउन सक्दा खेलकुद क्षेत्र सुचारु गर्न नसकेको भन्दै राखेपको कार्यशैलीलाई देखेर निराशा व्यक्त गरेका छन् ।

अनिलले लेखेका छन्, ‘दुई–तीन साताअघिको घटना होला यो । मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ । रंगशालामा मान्छेहरुको जमघट थयो । रंगशालामा मानिसहरूको भीड देख्दा मजस्ता धेरै नेपाली फुटबलप्रेमीको मन खुशीले दङ्ग परेको थियो । अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जिविकोपार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो । तर, त्यो तस्बिर राम्ररी नियाल्दा थाहा भो त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ । यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फटबल खेलाडीको मन नमज्जाले बजारिन पुग्यो ।’

खेल मैदानमा फिल्म, म्युजिक भिडियोको सुटिङका लागि भाडामा दिन सक्ने तर खेलकुद सुचारु गर्न आनकानी गर्दै खेलाडीको भविष्यसँग खेलेको भन्दै उनले थप लेखेका छन्, ‘कस्तो लापरवाही, रंगशालामा खेल संचालनको अनुमति नदिने सरकार सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन । कोरोनाले कामविहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो । अति नै दुःख लागेर आयो । कोभिडको कहरले देशमा खेलकुद गतिविधि ठप्प भएको सात महिना बितिसक्यो । सबैलाई गाह्रो छ, सरकार नि देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ । खेलकुद परिषद् र एन्फा लाचार छन् भनेर मन बुझाउँदै थिएँ । तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र यो पोस्टबाट आफ्नो मनको भावना पोख्न चाहेँ । खेलकुद पूर्णरुपमा सुचारु गरौं भन्दा कोरोनाको बहाना देखाउने खेलकुद परिषद्जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अतिनै लज्जाजनक लाग्यो । दुःखी नि बनायो र म यसको घोर भत्र्सना गर्छु । एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगति गर्छ जस्तो मलाई लाग्दैन । देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडीको क्षमतामा दोष दिने गरिन्छ । तर, देशको खेलकुद निकायको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ ।’

देशको लिगपनि व्यवस्थित नभएको भन्दै अनिलले आक्रोश पोखेका छन् । खेलाडीलाई २/३ महिना मैदानमा कुदाएर मात्र नजिता नआउने उनले बताएका छन् । लिग व्यवस्थित नभएको खण्डमा खेलाडी जतिनै क्षमतावान भएपनि राम्रो नजिता नआउन उनले बताए । २/३ महिनाको लिगले खेलाडीले आफ्नो जीवन चलाउने नसक्ने उनले जोडे ।

अनिलले भनेका छन्,’देशमा बल्लतल्ल सुचारू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने गरेको छ । ३ महिनापछि खेलाडी बेरोजगार हुन्छन् । जबकी सारा संसारभरी खेलाडीको आम्दानीको साहारा भनेकै लिग सिजन हो । अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्ष नै लिग गेम हो । हामीकहाँ खेल हार्यो कि खेलाडीलाई गाली गलौज गर्ने गरिन्छ । जबकी राष्ट्रिय टोलीका खेलाडीहरुले वर्षमा जम्मा २–३ महिना मात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन् । यो कुरा कसले बुझ्ने ? एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछि हामी खेलाडीले कसकसलाई अनि कहाँ गुहार्ने ?’

खेलकुद संस्था जिम्मेवार नहुँदा खेलाडी टुहुरो भएको भन्दै उनले भने, ‘हाम्रो अविभावक भनेकै यिनै संस्थाहरु हुन् । यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाइ टुहुरो भएको अनुभूति पनि नभएको होइन । यस्तै गतिविधिका कारण सानो बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ । डर लाग्छ, उनीहरुको भविस्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि ? त्यही भएर मैले आजभोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन । मनमा धेरै कुरा छन्, निराशा छन् तर भोलि अवश्य राम्रो हुन्छ भनेर आशा पनि छ । भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ र अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुचारु गर्नु जरुरी छ । खेल सुचारु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो । आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविष्यलाइ अँध्यारोमा धकेल्नु हुन्न । भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ । जय नेपाल, जय नेपाली फुटबल ।’

सरकारलाई किरण चेम्जोङको खुल्ला पत्रः कहिलेसम्म खेल गतिविधि ठप्प ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *