प्रज्जवल थापा । युइएफए नेसन्स लिगमा साविक विजेता पोर्चुगलले सानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले स्वेडेनलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा भएको खेलमा कप्तान स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको जितमा डिएगो जोटाले २ गोल र बर्नाडो शिल्भाले १ गोल गरे । रोनाल्डोको स्थानमा खेल्ने मौका पाएका डिएगो जोटाले उत्कृष्ट प्रदर्शन गरे । खेलमा घरेलु टोलिले २१ औ मिनेटमा अग्रता लिएको थियो । डिएगो जोटाको पासमा बर्नाडो सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
४४ मिनेटमा पोर्चुगलले अग्रता दोब्बर बनायो । जोए कान्सेलोको पासमा डिएगो जोटाले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २-० को अग्रता दिलाए । ७२ औ मिनेटमा विलियम कर्भाल्होको पासमा जोटाले व्यक्तिगत दोस्रो र टोलिको लागि तेस्रो गोल गर्दा पोर्चुगल सहज जित तर्फ लम्किएको थियो । थप समयमा अन्य गोल हुन नसक्दा पोर्चुगल विजयी भयो ।
समुहकै आर्को खेलमा फ्रान्सले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गर्यो। फ्रान्सको जितमा कालियन एम्बाफे र एटोइन ग्रिज्मनले १-१ गोल गरे। जितसँगै पोर्चुगल शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

