काठमाडौं । सत्तारुढ नेकपाले बूढीगण्डकी जलविद्युत् आयोजनामा भएको अनियमितताबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका हुन् ।
भट्टराईले बूढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्ति बिलकुल आधारहीन, झूट, गलत, कपोकल्पित र दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । यसअघि कांग्रेसले पनि भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो ।
भट्टराईले गत बिहीबार गोरखामा एक कार्यक्रममा बूढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब भ्रष्टाचार भएको आरोप लगाएका थिए। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकीमा नौ अर्बको भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

