हुम्लामा चीनबाट सीमा मिचिएको विषयमा कुटनैतिक संवादमार्फत समाधान खोज्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वको अध्ययन कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै कांग्रेसले सरकारको यो हतारो टिप्पणी भएको बताएको हो ।

कांग्रेसले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ ।’

कांग्रेसले यसबारे तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *