गौतमविरुद्धको मुद्दाको सुनुवाई दशैं अघि हुने सम्भावना कम

काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा मनोनीत सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएको छ ।

सातामा बुधबार र शुक्रबार मात्र संवैधानिक इजलास बस्छ । केही न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि इजलासमा न्यायाधीशको गणपूरक संख्या नपुगेको हो । अब घटनास्थापनाअघि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिने दिन हो ।

तर कोरोना संक्रमणका कारण अधिकांश न्यायाधीश क्वारेन्टाइन र केही आइसोलेसनमा रहेकाले हरेक दिन थोरै न्यायाधीशले मात्रै सर्वोच्चमा सुनुवाइ गरिरहेका छन् । बुधबार चार न्यायाधीश उपस्थित भएकोमा एउटा संयुक्त र दुईवटा एकल इजलास मात्रै गठन भएका छन् ।

घटस्थापनापछि देशभरका अदालतमा बिदा हुन्छ । बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतलगायत आंशिक रुपमा मात्रै खुल्छन् । कोजाग्रत पूर्णिमाअघि अड्डाअदालत नखुल्ने भएकाले त्यसपछि मात्रै गौतमको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठनको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *