काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा एक लाख ९४ हजार ९ सय ७५ किलो म्याद नाघेको बटर भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणको बटर फेला परेको हो ।
विभागका प्रमुख हरिबहादुर भण्डारीले वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दात भेटिएको जानकारी दिएका छन् । ती बटर २५र२५ किलोको कार्टुनमा राखिएको तर, अधिकाँश कार्टुनमा लेबल नभएको र केही कार्टुनमा लेबल भएपनि म्याद सकिइसकेको भण्डारीले जानकारी दिए ।
केही कार्टुनमा उपभोगका लागि ८ महिनासम्म राम्रो भनिएको भएपनि उत्पादन मिति भने नोभेम्बर २०१९, डिसेम्बर २०१९ रहेको भेटिएको छ । निमित्त आयोजना प्रमुख गोविन्दराज जोशीले मखनमा हुनुपर्ने फ्याटको प्रतिशत ८० हुनुपर्नेमा ७८ देखि ७९ सम्म देखिएकाले यो मखन प्रयोग गर्न नसकिने भनेर केन्द्रमा पत्राचार गरेको जानकारी दिए ।
उनले आफूहरुले त्यसको जवाफ कुरिरहेको बताए । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारी संस्थानबाटै सर्वसाधरणको जिउ ज्यानमाथि गम्भीर खेलबाड भएको देखिएको भन्दै कारबाहीको माग गरेका छन् ।

