दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

काठमाडौं । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो ।

ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ । यस्तै, लामो दुरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याइएको बताए ।

उनले ट्राफिक व्यवस्थापन मात्र नभएर चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई छाड्ने, कोरोना संक्रमणपछि लागू गरिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता विषयमा कडाइका साथ निगरानी गरिने जनाए ।

नका अनुसार लामो दुरीमा चल्ने सवारी साधनमा दुई चालक भए नभएको विशेष प्रविधिबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि ट्राफिक कम्युनिकेसन एप प्रयोग गरिनेछ ।

‘लामो दुरीमा सवारी चलाउन दुई ड्राइभर राख्नै पर्छ, यस पटक त्यसको कडा निगरानी हुन्छ, नागढुंगामा राखिएको विशेष प्रविधिको यन्त्रबाट सोबारे निगरानी गर्ने व्यवस्था मिलाइएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशखाका प्रमुख ढकालले राजधानीसँग भने ।

यसैगरी, भाडाका सवारीको टिकट काटिने काउन्टर तथा सवारी साधनभित्र यात्रुले देख्ने गरी भाडा रकमको सूची राख्नुपर्नेछ । टिकट काट्ने सम्बन्धित कम्पनीका व्यक्तिहरूले परिचयपत्र तथा ड्रेस अनिवार्य लगाउनुपर्नेछ भने एक व्यक्तिलाई दिइएको सिटको टिकट फेरि अर्को व्यक्तिलाई झुक्याएर काट्न वा दिन पाइनेछैन ।

यसैगरी, भाडाका यात्रुवाहक सवारीमा देखिने गरी वा छतमा मालसामान राख्न पाइनेछैन । यस्तै तीव्र गतिमा तथा जिकज्याक गरेर सवारी चलाउन पनि पाइनेछैन ।

यस्तै, निजी तथा साना सवारी साधनहरूमा समेत यी नियम लागू हुनेछन् । ओभर स्पिडमा चलाउने, ओभरलोड गर्ने, छतमा यात्रु तथा मालसामान राख्न पाइनेछैन । सोबारे सीसीटीभीमार्फत निगरानी गरिनेछ ।

यी विषयमा सवारी चालकले ध्यान दिए नदिएको तथा नियमपूर्वक सवारी चलाए नचलाएको अनुगमन दैनिक रूपमा गरिनेछ । त्यसका लागि ट्राफिक प्रहरीहरू दैनिक आकस्मिक चेकिङमा समेत परिचालित हुनेछन् । बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँच हुनेछ ।यो खवर राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *