बुटवल । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या४० जना पुगेको छ ।
त्यसैगरी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । आज बिहान सुनसरी बराहक्षेत्र नगरपालिकाका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र–५ का पुरुषको शनिबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यस्तै, चितवनको भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
