धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सुनसरीका तीन र झापाका एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । इटहरीका संक्रमितलाई ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज २२ गते अस्पताल ल्याइएको थियो ।
त्यस्तै दुहबीका संक्रमित असोज १२ गते भर्ना भएका थिए । त्यसैगरी धरान उपमहानगरपालिका–८ का ४६ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–१ का ५२ वर्षीय संक्रमितको बिहीबार मृत्यु भएको हो । उनका अनुसार उच्च रक्तचापका रोगीसमेत रहेका धरानका पुरुषको बिहीबार बेलुकी इमर्जेन्सी कक्षमा मृत्यु भएको थियो । असोज १८ गते कोभिड अस्पताल भर्ना भएका दमकका संक्रमितको बिहीबार बिहान मृत्यु भएको हो ।
