ललितपुर महानगर प्रमुख महर्जन कोरोना संक्रमणमुक्त

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहनुभएका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए । बुधबार अपरान्ह ४ बजे प्रमुख महर्जनको नतिजा नेगेटिभ आएको छ ।

मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए ।
केही वडाध्यक्ष सङ्क्रमित
महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
ज्वरो आउने र थकाइ लाग्ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा आज कोरोना पोजेटिभको नतिजा आएको ८ नं का वडाध्यक्षले जानकारी दिए । उनले भने, “ मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएर हामी दुवै होम आइसोलेशनमा बसेका छौं ।”

रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको १२ का वडाध्यक्षले बताए । उनले भने, “मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उहाँसँगै एक बैठक बसेका थियौँ । उहाँमा कोरोना पोजेटिभ देखियो भनेर आफ्नो पनि परीक्षण गराउँदा नतिजा पोजेटिभ नै आयो ।”

ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको नं १९ का वडाध्यक्षको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *