महिला हिंसाका घटना बढेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । मुलुकमा महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको भन्दै जनता समाजवादी पार्टीको महिला संघको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । महिला हिंसा र बलात्कारका घटना बढ्दै गएपनि सरकारले यसलाई रोक्न कुनै पहल नगरेको भन्दै शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनका सहभागीहरुले हालै गृहमन्त्री रामबहादुर थापाले बलात्कारबारे व्यक्त गरेको अभिव्यक्तिविरुद्ध पनि नाराबाजी गरेका छन् । गृहमन्त्री थापाले संसदको राज्य व्यवस्था समितिको बैठकमा नेपाल बलात्कार कम हुने राष्ट्रको सूचिमा रहेको बताएका थिए ।

प्रदर्शनमा सहभागी समाजवादीका नेतृ हिसिला यमिले बलात्कारका घटना बढ्दै गएको अवस्थामा राज्यले कुनै पहलकदमी नलिएको भन्दै यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्नुपर्ने बताइन् । बलात्कारबारे व्यक्त गरेको अभिव्यक्तिविरुद्ध निन्दनिय रहेको उनले बताइन् ।

प्रदर्शनमा सहभागीहरुले ‘गृहमन्त्री ज्यू, विश्वको सबै भन्दा बढी बलात्कार हुने देश नभएसम्म हामी चुप लागेर बस्ने हो ?, बलात्कारीलाई फाँसी दिनुपर्ने, बालिका सुरक्षाको प्रत्याभूमि गर लगाएत प्लेकार्ड बोकेका थिए । उनीहरुले महिला हिंसा र बलात्कारका घटनाको बिरोधमा निरन्तर आवाज उठाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *