काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेपछि पुनर्निर्माण गरिएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । बिहीवार विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर हालिएको हो ।
१२३ किलोको गजुरमा ३२.७३ तोला सुनको जलप लगाईएको छ । रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।
विज्ञ समूहको प्रतिवेदनअनुसार मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ । गजुर राखिएसँगै रानीपोखरी पुनर्निमाण करिब सकिएको र रंगरोगन र साजसज्जाको केही काम भने बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं रानीपोखरी पूनर्निर्माण आयोजनाका प्रमुख भरत अर्यालले जानकारी दिए ।
मल्लकालमा बनेको मन्दिर भने ग्रन्थकुट शैलीमा निर्माण भएको थियो । पछि राणाकालमा रानीपोखरीको मध्य भागमा रहेको मन्दिरको स्वरुप परिवर्तन गरी गुम्बज शैलीको बनाइएको थियो । २०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ ।






