काठमाडौँ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ ।
नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङलगायत पार्टी केन्द्रीय समितिमा सोमबार दिउसो विरोध पत्र दर्ता गराएका हुन् । पार्टी सभापति देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
उनीहरूले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने तर्फ सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने पनि उल्लेख गरेका छन् । उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन् ।
महाधिवेशन भएको छ महिनाभित्र गठन गर्नुपर्ने विभाग देउवाले नियमित चार वर्षे कार्यकाल सकेर थपिएको समयमा गठन गरेका थिए । महाधिवेशनका मुखमा विभाग गठन गर्दै ‘पद बाँडेर’ महाधिवेशन नै प्रभावित बनाउन खोजेको पौडेल पक्षको आरोप छ।









