चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोप आमनागरिकमा लगाउन अनुमति पाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार आममानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ ।
डब्ल्युएचओले अहिलेसम्म आपतकालीन प्रयोगका लागि कुनै पनि देशलाई प्रयोगको अनुमति दिएको थिएन । डब्ल्युएचओबाट आपतकालीनरुपमा सर्वसाधारणमामा अब खोप दिनका लागि अनुमति प्राप्त गर्ने देशको सूचीमा चीनले सबैभन्दा अगाडि आफूलाई सावित गरेको छ ।
चीनले तेस्रो चरणमा ५ वटा खोप परीक्षण गरिरहेको छ । त्यसमध्ये सबैभन्दा सफल मानिएको खोप आमनागरिकलाई दिनका लागि डब्ल्युएचओले अनुमति दिएको हो । तेस्रो चरणको परीक्षण अन्तरगत आममानिसमा खोप लगाउँदा पश्चिमा देशहरुले आलोचना गरेका थिए । तर पनि चीनले जुलाइ महिनामा आपतकालीनरुपमा खोप प्रयोग गर्न अनुमति दिएको थियो ।
चिनियाँ नेशनल हेल्थ कमिसनका अधिकारी झेङ्ग झोङ्गवेइले डब्ल्युएचओले कोरोना खोपका बारेमा अनुमति प्रदान गरेको बताएका छन् । चीनले यसअघि नै आपतकालीनरुपमा लाखौँ व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिसकेको छ ।
डब्ल्युएचओका डाइरेक्टर जनरल डा.मरिअनजेला सिमाओले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डब्ल्युएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले आपतकालीन प्रयोग अस्थायी समाधान भन्दै तेस्रो चरणको परीक्षणको नतिजाले विशेष महत्व राख्ने बताएका छन् ।
क्यानसिनोको खोप भने सैनिकका लागि प्रयोग गरिएको छ । चिनियाँ अधिकारीले सन् २०२० को अन्तिमसम्म चीनले खोप बजारमा ल्याउने बताएका छन् । एक वर्षभित्र ६१ करोड खोपको मात्रा उत्पादनको क्षमता आफ्नो देशसँग भएको चीनले जनाएको छ ।
