ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

प्रज्जवल थापा

अन्तिम समयमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि इङलिस प्रिमियर लिगअन्तर्गत भएको रोमाञ्चक खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । शनिबार भएको खेलमा युनाइटेडले लिगमा पहिलो जित दर्ता गर्ने क्रममा ब्रिगटनलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेजले एक एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

ब्रिगटनको रंगशालामा भएको रोमान्चक खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । ४० औ मिनेटमा निल मौपेयले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएपनि लामो समय जोगाउन सकेन । तीन मिनेटपछि लुइस डङ्कले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा बराबरीमा आएको थियो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको युनाइटेडले ५२ औ मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपनि अफसाइड भएको कारण मान्यता पाएन । त्यसको ३ मिनेटपछि ब्रुनो फर्नान्डेजको पासमा रासफोर्डले नै उत्कृष्ट गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए ।

जिततर्फ अग्रसर भएको युनाइटेडले पाएका अवसर उपयोग गर्न नसक्दा थप गोल गर्ने मौका गुमायो । अतिरिक्त समयको पाँचौं मिनेटमा जहान्बकसको पासमा सोली मार्चले गोल गर्दै ब्रिगटनको हार टार्ने प्रयास गरेका थिए ।

तर खेलको सयौं मिनेटमा युनाइटेडका मगिउरले हानेको हेडिङ बल मौपेयको हातमा लागेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई लिगमा पहिलो जित दिलाए । जितसँगै युनाइटेडले लिगमा पहिलो जित हात गरेको छ । पहिलो खेलमा युनाइटेड क्रिचल प्यालेससित पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *