चितवन । चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए ।
उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघनकक्षमा राखी उपचार हुँदाहुँदै आएको थियो ।
त्यसैगरी, कोरोना सङ्क्रमणबाट सप्तरीमा एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरानमा भर्ना गरिएको थियो । धरानमा भर्ना भएका उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
