प्रज्जवल थापा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइलिएल) २०२० मा चेन्नाई सुपर किङ्सले लगातार दोस्रो हार बेहोरेको छ। शुक्रवार भएको खेलमा दिल्ली क्यापिटल्ससित ४४ रनले पराजित भएको हो।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पूरा २० ओभर खेल्दै ३ विकेटको क्षतीमा १७५ रन बनाएको थियो। दिल्लिको लागि ओपनर पृथ्वी सहले सार्वधिक ६४ रन बनाए। उनले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
यस्तै अर्का ओपनर शिखर धवनले २७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। सान करनको बलमा आउट हुनुभन्दा अगाडी कप्तान श्रेयस इएरले २२ बलमा २६ रन जोड्दा आर्का ब्याट्सम्यान रिशव पन्तले २५ बलमा ६ चौकाको मद्दतमा ३७ रन जोडे।
चेन्नाईको लागि पीयूष चावलाले ४ ओभर बलिङ गर्दै ३३ रन दिएर २ विकेट लिदा साम कुरानले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले २० ओभरमा ७ विकेटको क्षतीमा मात्र १३१ रन बनाउन सक्यो। चेन्नाईको लागि फाफ डुपेल्सीले सार्वधिक ४३ रन बनाए। उनले ३५ बलमा चार चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन्। ओपनर मुरली विजय १० रन र शेन वाट्सन १४ रनमा आउट भए। रटुराज गैक्वाड ५ रन बनाएर रन आउट भए। नोर्टिजेको बलमा आउट हुनु अघि केदार जाधवले २६ रनको योगदान गरे। यस्तै कप्तान महेन्द्रसिह धोनीले १५ र रवीन्द्र जडेजाले १२ रन बनाएपनी टोलिलाई जित दिलाउन सकेनन्।
उत्कृष्ट बलिङ गरेको दिल्लिको लागि कगिसो रबडाले ४ ओभर बलिङ गर्दै २६ रन दिएर सार्वधिक ३ विकेट लिए। अस्कर पटेलले ४ ओभरमा १८ रन दिएर १ विकेट लिदा अनरिच नोर्टिजेले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए। जितसँगै दिल्ली २ खेलमा २ जित सहित शिर्ष स्थानमा छ भने तीन खेलमा १ जित र २ हार बेहोरेको चेन्नाई पाचौं स्थानमा छ।
