काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको बताएका हुन् ।
सबै अस्पतालमा ती औषधिहरु रहेको भन्दै उनले उपचारमा प्रयोग हुने औषधिको गुणस्तरमा पनि ढुक्क हुन आग्रह गरे । कोरोनाका गम्भीर बिरामीलाई चिकित्सकको निगरानीमा र बिरामीको इच्छा बमोजिम मात्र रेम्डेसिभिर दिने गरिएको उनले बताए ।
रेम्डेसिभिर सरकारले तोकेका अस्पतालमा निःशुल्क पाइने जानकारी दिदै उनले रेम्डेसिभिरको प्रयोगले कोरोनाका जटिल बिरामीमा थप केही समस्या देखिएमा विभागमा जानकारी गर्न आग्रह गरे । महानिर्देशक ढकालले क्लिनिकल ट्रायलको रुपमा रहेको तर प्रमाणित भइनसकेको औषधिलाई विभागले अनुमति नदिएको र बजारमा पनि नपाइएको भन्ने गुनासो गर्नु उचित नभएको जिकिर गरे ।