१३औँ एनआरएनए युरोप क्षेत्रीय बैठकको तयारी तीब्र

शेरबहादुर परियार

युरोप । “मातृभूमिकाे लागि सीप र ज्ञान, युवा तथा महिला आवाजका लागि हाम्रो अभियान” नाराका साथ आगामी अक्टोबर ३ र ४ तारिखका दिन आयोजना गरिने एनआरएनए १३औं युरोप बैठक तथा ११औँ क्षेत्रीय महिला भेला एवम् दोस्राे यूरोपियन ज्ञान सम्मेलनको तयारी तीब्ररुपमा भइरहेको छ ।

“मातृभूमिको लागि सीप र ज्ञान, युवा तथा महिला आवाजका लागि हाम्रो अभियान” युरोप बैठकका लागि हालसम्म गरिएका तयारी र कार्ययोजनाहरु तयारीबारे आज भर्चुअल पत्रकार सम्मेलनमार्फत् सचिवालयले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एनआरएन युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले बैठकको तयारी युद्धस्तरमा भइरहेको जानकारी दिए । उनले एनआरएन अहिलेको स्थानमा आउन पत्रकार मित्रहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै आगामी बैठक सफल पार्न पनि पत्रकारहरुको सहयोग सदा झैं अपेक्षा गरिएकाे बताए । तयारीका सम्पूर्ण कामहरु पूरा भएपछि सबै जानकारीसहित पुनः पत्रकार सम्मेलन गरिने पनि उनले जानकारी दिए ।

हालसम्मको तयारीबारे युरोप उप–संयोजकहरु मुक्त गुरुङ, कृष्ण तिमिल्सिना र शुक्रराज न्यौपाने, ज्ञान सम्मेलनका संयोजक राजु अर्याल, महिला संयोजक योगिता थापा र आईटी संयोजक शशी श्रेष्ठले आ–आफ्नो क्षेत्रको तयारी बारेमा जानकारी दिएका थिए ।

अन्ततः सहमति मै बन्यो मिडिया समिति

एनआरएनए युरोप सह-संयोजक तथा मिडिया समितिका संयोजक शुक्र न्यौपानेले पहिलो चरणमा केही आफ्ना नजिक र चिनजानका पत्रकारलाई मात्र राखेर मिडिया समिति बनाएका थिए । तर युरोप क्षेत्रमा क्रियाशील र संस्थागत पत्रकारहरुको उपस्थिति नभएको भन्दै व्यापक आलोचना भएपछि संयोजक न्यौपानेले मिडिया समितिको ग्रुपबाट हटाएका पत्रकारहरुलाई पुनः समावेश गरेपछि अन्ततः सहमति मै मिडिया समिति घोषणा भएको छ । समितिमा सहसंयोजक केजिन राई (नेपाल पत्रकार महासंघ यूरोप), नरेश खपाङ्गी (नेपाल पत्रकार महासंघ, बेलायत), उपसंयोजक ओम शर्मा (प्रस्तावित नेपाल पत्रकार महासंघ, बेल्जियम), योगेन्द्र मिलन छन्त्याल (प्रस्तावित नेपाल पत्रकार महासंघ, पोर्तुगल), सदस्य–सचिव विपिन निरौला र सल्लाहकारमा एनआरएन केन्द्रीय प्रवक्ता तथा केन्द्रीय मिडिया टास्क फोर्स संयोजक डिबि क्षेत्री र वरिष्ठ पत्रकार भगिरथ योगी छन् ।

पत्रकार महासंघ युरोपले क्षेत्रीय बैठककाे विशेष कार्यक्रम लाइभ गर्ने

नेपाल पत्रकार महासंघ युरोप शाखाले १३औं युरोप बैठक तथा ११ औँ क्षेत्रीय महिला भेला र दोस्रो यूरोपियन ज्ञान सम्मेलनलाई मध्यनजर गर्दै विशेष कार्यक्रम गर्ने अध्यक्ष केजिन राईले बताए । “युरोपको क्षेत्रीय बैठक सफल पार्नु हामी पत्रकारको कर्तव्य हो, तसर्थ हामी यो युरोप बैठक विशेष कार्यक्रमहरू लाइभ गर्ने छौं,” राईले भने, “महासंघको २६औं श्रृङ्खला युरोप बैठकको विषयमा एनआरएन युरोप सह–संयोजकद्वय मुक्तबहादुर गुरुङ् र कृष्ण तिमिल्सिनाको सहभागितामा लाइभ कार्यक्रम गरिसकेका छौं । अब एनआरएनएका जिम्मेवार र सरोकारवालाको सहभागितामा केही लाइभ श्रृङ्खलाहरु गर्ने छौं ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईद्वारा उद्घाटन हुने युरोप क्षेत्रीय बैठकलाई शिक्षा मन्त्री गिरिराजमणी पोख्रेल, पूर्व मन्त्रीहरु गगन थापा, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, गंगालाल तुलाधरका साथै नेपाल सरकारका अधिकारीहरु, एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्तलगायत केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्व महामारीका कारण बैठकका सम्पूर्ण कार्यक्रमहरु भर्चुअल प्रविधिबाट गरिने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *