काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षणका लागि पुग्नेको भिड बढेको र राती अस्पतालबाहिरै बास बस्नुपरेको खवर सार्वजनिक भएपछि संसदीय उपसमितिले चासो देखाएको छ । प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले बिहीबार अस्पताल पुगी कोरोना परीक्षणमा भीड बढ्नुको कारणबारे जानकारी लिएको हो ।
त्यसक्रममा उपसमितिको टोलीले अस्पतालको क्षमताका बारेमा, कोरोना संक्रमितको उपचारका बारेमा जानकारी लिएको हो । उपसमिति संयोजक जिवनराम श्रेष्ठले पीसीआर गर्ने सहज स्थान भएकाले भीड बढेको पाइएको बताए । त्यस्तै उपत्यका बाहिरबाट कामको शिलसिलामा राजधानी प्रवेश गर्नेको संख्या बढेकाले पनि अस्पतालमा भीड बढेको उनले बताए ।
कोरोना परीक्षणका लागि सरकारले तय गरेको मापदण्ड अनुसार लक्षण देखिएकाको मात्र पीसीआर भए भीड घट्न सक्ने उनको भनाई छ । संयोजक श्रेष्ठले अनुगमनका क्रममा उक्त अस्पतालमा कोरोना संक्रमितको उपचार निकै राम्रो पाइएको जानकारी दिए ।
त्यस्तै अस्पतालका निर्देशक सागर राजभण्डारी राजधानीको निषेधाज्ञा खोलेपछि पीसीआर परीक्षण गर्न आएकाको संख्या निकै बढेको र पीसीआर परीक्षण क्षमता पनि बढाएको जानकारी दिए । त्यस्तै कर्मचारीको अभाव पनि अस्पतालमा देखिएको उनको भनाई छ ।
अस्पतालले पीसीआर परीक्षणका लागि असोज १ यता दैनिक ५ सयभन्दा बढी नमुना संकलन गरिरहेको जनाएको छ । यसअघि उसले दैनिक ३ सय हाराहारी नमुना संकलन हुने गरेकोमा निषेधाज्ञा खुल्ला भएपछि परीक्षण गर्नेको संख्या बढेको हो । टेकु अस्पतालले निःशुल्क परीक्षण गर्ने भएकाले भीड लागेको अस्पतालको भनाइ छ ।
