स्याङ्जा । स्याङ्जाको वालिङमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीका एकै परिवारका ९ जनाको मृत्यु भएको हो । वालिङ १४, तमागीमा परिवारकै १० जना पहिरोमा बेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जीवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् । पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा परी मृत्यु भएको छ । उमा र माया दिदीबहिनी हुन् ।
दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका महिन महिने शिशुको पनि पहिरोले ज्यान लिएको छ । पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा पठाइएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ मा पनि पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परियाररको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यससँगै बिहीबार स्याङ्जामा पहिरोबाट कुल १० जनाको ज्यान गएको हो ।
