प्रज्जवल थापा
तनहुँ । चेल्सीले इङलिस लिग कपमा फराकिलो जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा च्याम्पियनसिप क्लब ब्रान्सेलेलाई ६-० गोलले पराजित गरेको छ ।
घरेलु मैदान स्ट्राम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा काइ हाभर्टजले ह्याट्रिक पूरा गरे । यसै सिजन जर्मन क्लब बायर लेभरकुजनबाट चेल्सीमा भित्रिएका हाभर्टजको यो तेस्रो खेल हो । यस्तै चेल्सीको लागि ट्यामी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडले पनि समान एक गोल गरे ।
खेलभरि हाबी रहेको चेल्सीले १९ औँ मिनेटमा ट्याम्मी अब्राहमको गोलमा अग्रता लिएको थियो । २८ औँ मिनेटमा मासन माउन्टको पासमा हाभर्टजले डेब्यु गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा खेलमा झन पक्ड जमाएको चेल्सीले ४ गोल थप्यो । दोस्रो हाफको सुरुवातमै ४९ औ मिनेटमा रोज बार्कलीले गोल गरे । ५५ औँ मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० ले अगाडी बढाए । ६५ औँ मिनेटमा अब्राहमको पासमा गोल गर्दै हाभर्टजले आफ्नो ह्याट्रिक पूरा गरे । ८३ औँ मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई ६-० को जित दिलाए ।
