ताप्लेजुङमा घरेलु हतियार प्रहारबाट तीन जना गम्भीर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पासाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनापछि लाक्पा भने फरार छन् । गम्भीर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तत्कालका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहे पनि त्यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिए । घाइते फुटि भोटे लाक्पाकी ठुलीआमा हुन् भने पासाङ तिनै ठुलीआमाका छोरा हुन् । अर्का पासाङ भने काकाको छोरा रहेका स्थानीयले बताएका छन् ।

बेलुकी ठुलीआमाकोमा पुगेका लाक्पा त्यही खाना खाएर बसेका थिए । त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट समेत प्रहरीको टोली गईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *