काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा विकल्पका रुपमा प्रयोग हुँदै आएको फ्याभिपिराभिर २०० को नेपालमै उत्पादन सुरु भएको छ ।औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना रोकथामको औषधी उत्पादन सुरु गरेको हो ।
कोरोना भाइरसको हालसम्म कुनै खोप र औषधि पत्ता नलागे पनि रोकथामका लागि फ्याभिपिराभिर २०० को प्रयोग हुँदै आएको औषधि हो । कोरोनाको एन्टिभाइरलको रुपमा विश्वका धेरै मुलुकहरूले फ्याभिपिराभिर औषधिको प्रयोग गरिरहेकोकम्पनीले जनाएको छ ।
यो औषधी यसअघि नेपालमा भारतबाट ल्याउनका लागि सीमित सप्लायर्सलाई मात्र टेन्डर स्वीकृति गरिएको र औषधिमा कालोबजारी हुँदै आएको थियो । प्रतिमात्रा ६ हजार ४ सयमा टेन्डर स्वीकृति भएको औषधीको ४० हजारदेखि एक लाखसम्म कालाबजारियाले लिँदै आएको पीडितहरूले यसअघि नै सार्वजनिक गरेका छन् । पहिला भने यो सामान्यरूपमा पाइने औषधि भए पनि कोरोनामा प्रयोग भएको भन्नेबित्तिकै कालोबजारी शुरू भएको थियो ।
विश्वका ठूला देशहरू कोरोनाको भ्याक्सिन उत्पादन र परीक्षणमा क्रियाशील भए पनि कठिन परिवेशमा संक्रमितको उपचारका लागि रमडेसिभार, फ्याभिपिराभिरलगायत औषधीको प्रयोग हुँदै आएको कम्पनीको भनाइ छ । हालसम्म यो औषधीको वैकल्पिक प्रयोगका लागि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले क्लिनिकल प्रयोगका लागि अनुमति दिएका छन् ।

स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग अनुमति लिई नेपालमै यसको उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए । ‘कोरोनाले मानव स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर परेकामा हामीले यसको वैकल्पिक औषधीको अभाव कसैलाई नहोस् भनेर उत्पादन सुरु गरेका हौं,’ उनले भने ।
कम्पनीले औषधी उत्पादनका लागि विभागमा निवेदन दिएको थियो । निवेदनपछि गत साउन ६ मा क्लिनिकल प्रयोजनका लागि उपलब्ध गराउने गरी विभागले उत्पादन अनुमति दिएको शर्माले बताए । कोरोना संक्रमितको उपचार प्रयोजनका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानका लागि प्रयोग गर्न सकिने गरी उत्पादन सुरु गरिएको शर्माले जानकारी दिए ।
उनका अनुसार कम्पनीले औषधिको उत्पादन सुरु गरेपछि मन्त्रालयले बनाएको मापदण्डअनुसार आवश्यकतालाई हेरेर अस्पताललाई उपलब्ध गराउँनेछ । शर्माले भने, ‘विशेषज्ञ वैज्ञानिक र प्राविधिकले ६ महिनादेखि गरेको अध्ययनका आधारमा औषधीको उत्पादन सुरु गरिएको हो ।’
