चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारको भनाइ (परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिसहित)

काठमाडौँ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेको कुरा सत्य नभएको सरकारले बताएको छ ।

पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको र नेपाल र चीनबीच सीमासम्बन्धी कुनै विवाद नभएकाे बताएका हुन् ।

“यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको थियो”, उनले भने, “चीनले बनाएका भनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमै रहेछ ।’

नेपाल चीनबीच सीमा समस्या नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले त्यस्ता समस्या भएका भए बसेर छलफल गर्नुपर्ने बताए । साथै उनले यस्ता विषयमा रिपोर्टिङ गर्नुपूर्व सम्बन्धित मन्त्रालयको सम्बन्धित विभागको आधिकारिक धारणा सम्प्रेषण गर्नु राम्रो हुने उनले सञ्चारमकर्मीलाई सुझाव दिए ।

काठमाडाैँस्थित चिनियाँ दूताबासले पनि चीनले नेपाली भूमी नमिचेकाे बताएकाे थियाे ।

आजै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल-चीन सीमा क्षेत्रकाे ११ र १२ सीमास्तम्भ बीचकाे नेपाली भूभागमा चीनले भवन बनाएकाे विषयमा प्रकाशित समाचारप्रति मन्त्रालयकाे ध्यानाकर्षण भएकाे भन्दै नापी विभागकाे रेकर्ड, स्थलगत अध्ययनकाे प्रतिवेदन र सीमा नक्साले भवनहरू बनाइएकाे भनिएकाे भूभाग नेपालमा नपर्ने यसअघि नै प्रमाणित र निश्चित गरिएकाे स्पष्ट पारेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *