काठमाडौं । सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चार उद्यमीहरुको नयाँ संगठन मिडिया अलायन्स नेपाल गठन गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारको अध्यक्षतामा संस्था गठनकोे घोषणा गरिएको हो । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको संस्थाले जनाएको छ ।
अलाइन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ अलान्सको स्थापना भएको जानकारी दिए । एउटै अनुमति पत्रमा नीजि क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने उनले बताए ।
एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको अलाइन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष छन् ।
इमेज च्यानल प्रालिका सिइओ लक्ष्मण हुमागाई महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्जवल शर्मा कोषध्यक्ष छन् भने सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सिइओ सम्बृद्धि ज्ञवाली रहेका छन् ।
