काठमाडौँ । आज सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सबै प्रदेशका थोरै/थोरै स्थानमा भारी वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’मा उल्लेख छ ।
यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका केही केही स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टा भाेलि बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’