आर्थिक विकासमा पर्यटन विकासको प्रश्न

– दुर्गाप्रसाद गौतम
विगत केही दशक यता कुनै पनि मुलुकको सर्वाङ्गिण विकासका सन्दर्भमा पर्यटन विकास र यसको भूमिका तथा महत्व विश्वका प्रायः सबैजसो अर्थव्यवस्थाहरुमा आर्थिक विकासका लागि एक सशक्त तथा क्रियाशील आर्थिक इन्जिनका रूपमा विकसित हुँदै गइरहेको यथार्थमा कुनै दुविधा रहेन । पर्यटनको विकास तथा विस्तार गरी यसैमा आधारित उद्योगहरुको योगदानलाई अर्थव्यवस्थामा एथेष्ठ बृद्धि गर्न सफल मुलुकहरुले केबल वैदेशिक मुद्रा आर्जन तथा यसको संचितिमा मात्र बृद्धि गरेको नभई आफ्ना अर्थव्यवस्थामा प्रशस्तै मात्रामा पर्यटनमा आधारित उद्योगहरुको विकास तथा विस्तारद्वारा यसमा आधारित रोजगारीहरु यथेष्ठ मात्रामा एकातर्फ सृजनासमेत गर्न सफल रहेका देखिए भने अर्कोतर्फ पर्यटक केन्द्रित वस्तु तथा सेवाहरुको उत्पादन तथा निर्यातमासमेत उल्लेख्य बृद्धि हासिल गर्न सफल रहेको कुरा पर्यटन उद्योग र यससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुद्वारा बेलाबखत प्रकाशित गरेका प्रतिवेदनहरुले प्रस्तुत गरेका तथ्यांकहरुको अवलोकनबाट पनि सजिलै अनुमान लगाउन सकिन्छ । वर्तमान विश्वमा पर्यटन तथा यससँग सम्बन्धित उद्योग व्यवसाय विश्वका प्राय सबैजसो मुलुकहरुका लागि एक महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकसित हुँदै गइरहेको तथ्य कुनै नौलो विषय रहेन ।


विगत केही दशक यता विश्व अर्थव्यवस्थामा देखिएको तीब्रतर गतिको आर्थिक गतिशीलता, मानव जीवनस्तरमा देखिएको तीब्रतर सुधार, आयस्तरमा हुँदै गएको बृद्धि आदि जस्ता तत्वहरुको कारण उच्चतम आर्थिक बृद्धि हासिल गरेका तथा आर्थिक विकासको गतिमा पछि नै परेका मुलुक भएपनि व्यक्तिगत जीवनस्तर उच्च रहेका तथा हवाई टिकट तथा निश्चित बसाइका लागि वाह्य मुलुकका लागि व्यक्तिहरुको हुँदै गएको क्षमता बृद्धि आदि पर्यटनसँग सम्बन्धित गतिविधिहरु विश्वस्तरमा नै बृद्धि हुँदै गइरहेको महशुस गर्न गाह्रो छैन । यसबाहेक वर्तमान विश्वमा बढ्दै गइरहेको अनुसन्धानात्मक तथा अन्वेषणात्मक प्रवृत्ति तथा कुटनीतिक रूपमा नै मौलाउँदै गएको गुप्तचरी प्रवृत्तिका कारण पनि पर्यटनका गतिविधिहरुमा अझ तीब्रता थपिँदै गएको देखिन्छ ।

केही वर्ष यता विश्वव्यापी रूपमा नै अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्या उल्लेख्य रूपमा बृद्धि हुँदै गइरहेको पाइन्छ । संयुक्त राष्ट्र संघ विश्व पर्यटन प्रतिवेदन २०१० ले सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय पर्यटकहरुको कूल संख्या ४३५ करोड रहेकोमा सन् २००० सम्म यो संख्या बृद्धि भई ६७५ करोड पुगेको र उक्त संख्या सन् २०१० सम्म आइपुग्दा बढेर ९४० करोड हुन पुगेको कुरा उल्लेख गरेको छ । यसबाट के स्पष्ट हुन्छ भने अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्या विश्वव्यापी रूपमा नै केही दशक यता दशकैपिच्छे दोब्बर हुँदै गइरहेको छ । यसले एकातर्फ पर्यटन र यससँग सम्बन्धित उद्योगधन्दाहरुको विकास तथा विस्तारलाई टेवा पु¥याएको छ भने अर्कोतर्फ यस्तो व्यवसायलाई आकर्षण गर्न सक्ने मुलुकहरुमा वैदेशिक मुद्रा संचितीमा बृद्धि तथा आन्तरिक अर्थतन्त्रमा थप रोजगारीका अवसरहरुको सृजना गर्दै गइरहेको छ । साथै पर्यटनको विस्तारले विश्वका विभिन्न समुदायहरु बीच संस्कृति, भेषभूषा, भाषा, साहित्य, संस्कार, धर्म, रितिरिवाज तथा रहनसहनमा समेत व्यापक प्रभावहरु देखापर्ने क्रमहरु महशुस गर्न थालिएको छ ।

वर्तमान विश्वका धेरै मुलुकहरुमा पर्यटन एक प्रमुख उद्योगका रूपमा स्थापित भइसकेको छ । संयुक्त राष्ट्र संघ विश्व पर्यटन संस्था युएनडब्लुटिओको प्रतिवेदन २०१२ का अनुसार विगत ६ दशकदेखि विश्व अर्थव्यवस्थाले क्रमिक रूपमा पर्यटन उद्योगको विविधीकरण सहितको बृद्धिलाई महशुस गर्दै आइरहेको छ साथै पर्यटन विश्व अर्थव्यवस्थामा एक तीब्रतर गतिमा विकसित हुँदै गइरहेको आर्थिक क्षेत्रका रूपमा अगाडि आइरहेको देखिन्छ । विश्व पर्यटन काउन्सिलले आफ्नो प्रतिवेदन पर्यटन आर्थिक असर २०१३मा विश्व अर्थव्यवस्थाका कूल गार्हस्थ उत्पादनमा पर्यटन र यससँग सम्बन्धित क्षेत्रको योगदान करिब करिब ९.२ प्रतिशत रहेको कुरा उल्लेख गरेको छ साथै उक्त प्रतिवेदनले पछिल्ला दशकहरुमा उक्त क्षेत्रको बार्षिक बृद्धिदर करिब करिब ४ प्रतिशत हुने र दश वर्ष पछि विश्व अर्थव्यवस्थाको कूल ग्राहस्थ उत्पदनमा पर्यटन क्षेत्रको योगदान करिब करिब ९.४ प्रतिशत रहने कुरा प्रक्षेपण गरेको देखिन्छ ।

साथै उक्त प्रतिवेदनले विश्व अर्थव्यवस्थाको कूल रोजगारी मध्ये पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायले मात्र करिब ८.७ प्रतिशत रोजगारी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सृजना गरेको देखाएको छ भने सन् २०१३ पछि प्रतिवर्ष थप २.४ प्रतिशतले थप रोजगारी बृद्धि भई सन् २०२३ सम्म पुग्दा उक्त क्षेत्रको योगदान कूल रोजगारीमा ९.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । यी माथि उल्लेखित तथ्यांकहरुलाई शूक्ष्म विश्लेषण गर्ने हो भने सजिलै पर्यटन उद्योग वर्तमान विश्वको एक महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा उदय हुँदै गइरहेको यथार्थलाई बुझ्न गाह्रो छैन । विकासोन्मुख तथा अल्पविकसित मुलुकहरुका सन्दर्भमा तीब्र आर्थिक विकासका लागि आवश्यक आधार पूँजीको प्रचुर उपलब्धताको सुनिश्चितता तथा वैदेशिक मुद्राको प्रचुर उपलब्धताको ग्यारेन्टीका लागि पर्यटन तथा यससँग सम्बन्धित उद्योगहरुको तीब्रतर विकास हुन सके यो सम्पूर्ण अर्थव्यवस्थाकै आर्थिक सम्बृद्धिका लागि रक्तसञ्चार सावित हुन सक्नेछ । पर्यटन उद्योगको विकास तथा विस्तारद्वारा नै राज्यमा करका दायराहरुमा फराकिलो बृद्धिका अवस्थाहरु सृजना गर्न सकिन्छ ।

साथै पर्यटन क्षेत्रको विकासद्वारा वैदेशिक मुद्रा आर्जनमा बृद्धि, उल्लेख्य मात्रामा रोजगारीका अवसरहरुमा बृद्धि, आन्तरिक तथा ग्रामीण पूर्वाधार विकासमा योगदानका साथ साथै समग्र मानव संशाधन विकासमा नै ठूलो योगदान निश्चित प्रायः हुने देखिन्छ ।

अतः यहाँ यही पर्यटनसँग सम्बन्धित उद्योग व्यवसाय र यसले नेपाली अर्थव्यवस्थामा पु¥याएको योगदान तथा उक्त क्षेत्रको विकास तथा विस्तारमा योगदान गर्न सके आउँदा दिनमा उक्त क्षेत्रले नेपाली अर्थतन्त्रमा पुर्याउन सक्ने टेवाको सेरोफेरोमा रही पर्यटन व्यवसाय र यसमा विद्यमान समस्या तथा चुनौतीका सम्बन्धमा विश्लेषण गर्ने जमर्को गरिएको छ । नेपाली अर्थव्यवस्था दुई ठूला तिब्रतर आर्थिक विकासको गतिमा लम्कीरहेका अर्थव्यवस्थाहरु चिन र भारतको बीचमा रहनुले पनि पर्यटन व्यवसायको विकास तथा विस्तारद्वारा तुलनात्मक रूपमा बढी आर्थिक भलाइहरुको सृजना गरी थप वैकल्पिक आर्थिक अवसरहरुको सृजना तथा ग्यारेन्टी हुने निश्चित प्रायः छ । जसलाई नेपालमा विद्यमान रहेको प्रचुर तथा विविध प्राकृतिक सम्पदाको उपलब्धताका साथै सांस्कृतिक तथा धार्मिक सहिष्णुताले थप पुष्टि गर्दछ ।

हामीसँग हिमाली क्षेत्रदेखि पहाडी भेग हुँदै तराईको समतल भागसम्म फैलिएको हाम्रो मौलिक तथा विविध भौगोलिक बनौट, वातावरणीय र मानवीय सम्वेदनाका शृंखलाबद्ध अविच्छिन्न रूपमा विविधतामा एकताका लागि लामबद्ध भई जुरमुराउने हाम्रा हातहरु उक्त क्षेत्रको सम्भाव्यताको पुष्टिको अर्को बलियो आधार हो । यदि हामीले यी कुराहरुलाई साँचो अर्थमा मनन् गरी पर्यटन क्षेत्रमा विकासका सम्बन्धमा निश्चित ठोस नीति सहित सक्रियता बृद्धि गर्न सके हामी हाम्रो अर्थव्यवस्थाको कूल ग्राहस्थ उत्पादनमा उक्त क्षेत्रको योगदानलाई भारी उल्लेख्य मात्रामा एकातर्फ बृद्धि गर्न समर्थ हुने छौँ भने अर्कोतर्फ उक्त क्षेत्रको विकास तथा विस्तारका कारण सृजित हुने थप राजगारीका अवसरहरुको प्रयोगद्वारा हाम्रो सहश्राव्दी लक्ष्य गरिबी निवारणलाई उल्लेख्य रूपमा सम्बोधन गर्न समेत सक्षम रहने छौँ ।

विगत १३ वर्ष अगाडिदेखिको नेपाली पर्यटन व्यवसयासँग सम्बन्धित तथ्यांकको विभिन्न वर्षका आर्थिक सर्वेक्षणहरुबाट अवलोकन गर्दा के देखिन्छ भने नेपालमा विगत एकदशकदेखि भित्रिने पर्यटकहरुको संख्याको बार्षिक बृद्धिदर औसतमा करिब ९.८४ प्रतिशत रहे तापनि कतिपय व्यक्तिगत वर्षहरुको सन्दर्भमा त यो बृद्धिदर उल्लेख्य मात्रामा नकारात्मक समेत रहेको देखिन्छ । ती प्रतिवेदनहरुमा नेपालमा भित्रिने पर्यटनहरुको औसत नेपाल वसाईलाई नियाल्दा सो अन्य मुलुकहरुमा रहने पर्यटनहरुको औसत बसाई भन्दा ज्यादै कम अर्थात् केबल १०.४५ दिन रहेको देखिन्छ । जसका पछाडि विभिन्न कारणहरु हुन सक्दछन् ।

ती मध्ये पर्यटकलाई आवश्यक सेवा सुविधा शर्तका साथै उनीहरुको बसाई अवधिभर सुरक्षाको ग्यारेन्टी महत्वपूर्ण हुन्छन् । आर्थिक सर्वेक्षणका तथ्यांकहरुलाई नियाल्दा नेपालमा विभिन्न उद्देश्यमूलक पर्यटकरु भित्रिने गरेको देखिन्छ । त्यसमा घुमफिर र मनोरञ्जनका लागि आउने पर्यटकको संख्या सबैभन्दा उल्लेख्य अर्थात् करिब औसत ३५ प्रतिशत रहेको छ भने दोस्रो प्रतिशत करिब २० प्रीतशत ट्रेकिङ तथा माउन्टेरिङमा रहेको देखिन्छ भने तेस्रो स्थान धार्मिक पर्यटकहरुले लिएको देखिन्छ । यी तथ्यांकहरुलाई रम्रोसँग विश्लेषण गर्ने हो भने पर्यटन व्यवसायको विस्तारका लागि नेपाल एक उर्बर भूमि हुन सक्ने सजिलै अनुमान गर्न सकिन्छ ।

तर यति हुँदाहुँदै पनि पर्यटन व्यवसायले वर्तमान् समयमा नेपाली अर्थतन्त्रको कूल ग्राहस्थ उत्पादनमा विगत एक दशकदेखि केबल औसतमा १.८ प्रतिशत मात्र योगदान गर्न सकेबाट उक्त क्षेत्रको यथेष्ट विकास तथा विस्तार गर्न नसकिएको कुरा एकातर्फ पुष्टि हुन्छ भने अर्कोतर्फ उद्योगमा विद्यमान विभिन्न समस्याहरुको कारण नै पर्यटकीय सेवा सुविधा तथा शर्तहरुमा सुधार सहितको उन्नति कूल ग्राहस्थ उत्पादनमा उक्त क्षेत्रको योगदान बृद्धिका लागि अत्यावश्यक रहेको देखिन्छ ।

यदि पर्यटन क्षेत्र विकासमा सुधार सहितको दिगो विकासका लागि मार्गचित्र कोर्न सक्ने हो भने यसले एकातर्फ नेपाली अर्थतन्त्रको समग्र आर्थिक विकास र गरिबी निवारणका लागि यथेष्ट योगदान पुर्याउने छ भने अर्कोतर्फ सामाजिक, वातावरणीय र सांस्कृतिक भलाई बृद्धिका लागि मार्गसमेत प्रशस्त गर्नेछ । नेपालमा पर्यटन विकासलाई राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधारका रूपमा नेपाली अर्थव्यवस्थामा योजना थालनीको केही समय पश्चान नै उल्लेख भएको सन्दर्भ कसैबाट छिपेको छैन । तैपनि केही योजनाहरु पश्चात मात्र उक्त क्षेत्रको विकास तथा विस्तारका लागि ऐन कानुनको तर्जुमा तथा अवलम्बन गरिएको देखिन्छ ।

नेपालमा पर्यटन सेवालाई नियमन गर्ने उद्देश्यले सन् १९७८ मा औद्योगिक ऐन, पर्यटन ऐन, २०३५ जारी गरियो जसलाई सन् १९९७ मा आएर आवश्यक सुधार गरिएको देखिन्छ । यस्तै उक्त क्षेत्रमा सेवा सुविधालाई चुस्त तथा फराकिलो बनाउँदै पर्यटकहरुको आकर्षण बृद्धि गर्ने उद्देश्यद्वारा होटल, लज, रेष्टुराँ, बार र पर्यटक पथप्रदर्शक नियम १९८१ जारी गरियो । साथै ट्रेकिङ तथा माउन्टेरिङलाई व्यवस्थित गर्ने उद्देश्यले ट्रेकिङ एजेन्सी नियम १९८०, ट्रेकिङ तथा राफ्टिङ नियम १९८५ र माउन्टेरिङ नियम १९७९ जारी भए । यी विभिन्न ऐन, कानुन तथा नियमहरु पर्यटन विकास तथा विस्तारलाई योगदान पुर्याउने उद्देश्यद्धारा प्रेरित भई जारी भए तापनि यी नियमहरु नेपाली अर्थव्यवस्थामा पर्यटन विकासका लागि विद्यमान चुनौतीहरु सामना गर्न यथेष्ट नभएको देखिन्छ ।

अझै पनि नेपाली अर्थतन्त्रमा पर्यटन प्रबद्र्धनका सम्बन्धमा प्रयाप्त पूर्वाधार तथा दक्ष जनशक्तिको अभाव देखिन्छ । यदि बेलैमा पर्यटन क्षेत्रलाई आवश्यक यथेष्ट पूर्वाधार विकास सहित, दक्ष जनशक्तिको निर्माण गर्न सके उक्त क्षेत्रको योगदान आउँदा वर्षमा नेपालको कूल ग्राहस्थ उत्पादनमा एकातर्फ उल्लेख्य बृद्धि गर्न सिकने छ भने अर्कोतर्फ वैदेशिक लगानीलाई समेत आकर्षण गरी साँचो अर्थमा पर्यटनलाई नेपाली अर्थव्यवस्थाको समुन्नतिको एक वास्तविक आधारको रुपमा प्रस्तुत गर्न सकिनेछ ।
(लेखक आर्य स्कुलका संस्थापक प्राचार्य हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *