संवैधानिक निकायमा पदपूर्तिको काम छिटाे अगाडि बढाउन सरकारलाई नेकपाको सुझाव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लामो समयदेखि रिक्त संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया छिटाे अगाडि बढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘विभिन्न संवैधानिक निकायको पदपूर्तिको बारेमा संवैधानिक परिषद्को बैठक छिटो बसेर आवश्यक निर्णय लिन पहल गर्नुहुन अनुरोध गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

आजको बैठकमा मन्त्रिपरिषद्को पुनर्गठनका बारेमा छलफल हुने भनिएको भए पनि दोस्रो एजेन्डाका रुपमा रहेको संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको हो ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पाैडेललाई १० दिनको समय दिइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे पत्रकारले सोधेको प्रश्नमा उनले आजको बैठकमा यसबारे छलफल नभएको बताए । ‘मन्त्रिपरिषद् पुनर्गठनका बारेमा अस्ति भएको बाहेक थप छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भने ।

प्रधानमन्त्री ओली आजकाे बैठकलाइ पूरै समय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *