चीनले केरुङ्ग र तातोपानी नाकामै रोक्यो अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौँ । चीनले दुई साताअगाडिबाट नेपालसँगका केरुङ र तातोपानी नाका बन्द गरेपछि नेपाली व्यवसायीले खरिद गरेका अत्याश्यक स्वास्थ्य सामग्री बोकेका सयौँ कन्टेनर सीमापारि अलपत्र परेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीसमेत चीन मै अड्किएको छ । बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज बोकेको गाडी पनि तीन हप्तादेखि चिनियाँ भूमिमा अलपत्र छ । सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याउन लागिएको ०.०५ एमएल साइजका ११ लाख थान सिरिन्ज जंगलको बीचमा अलपत्र कन्टेनरमा छन् ।

केरुङ नाकाको रसुवागढी भन्सारका एक मजदुरलाई २२ दिनअघि कोरोना पोजिटिभ देखिएपछि चीनले नाका पूर्णरुपमा ढप्प पारेको थियो । ती मजदुर सक्रमणमुक्त भइसके नाका खुलाउने तर्फ चिनियाँ पक्ष गम्भीर देखिएको छैन । कोभिड महामारी सुरु भएपछि गत जेठमा खुलेको रसुवागढी भन्सारको कारोबार यसबीचमा मुस्किलले एक महिना भएको छ । कारोबार भएको समयमा पनि चीनले दैनिक ८ वटाभन्दा बढी कन्टेनर मात्र भित्रन दिएको थिएन ।

पाँच वर्षअघिको महाभूकम्पदेखि नै नेपाली व्यवसायीलाई खासा र केरुङ नाकाबाट चीनले उसकाे भूभागमा जान दिइएको छैन । व्यवसायीका अनुसार केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छ ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले केरुङ नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए । यद्यपि चिनियाँ पक्ष स्वास्थ्य सामग्री छुटाउनसमेत संवेदनशील देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *