रोनाल्डोको गोलमा युभेन्टस विजयी

प्रज्जवल थापा

तनहुँ । युभेन्टसले इटालियन लिग “सिरि ए” मा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा आइतबार राति युभेन्टसले साम्पडोरियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एलिएन्ज एरिना टुरिनमाभएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दो बोनुची र फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोेका लागि पनि “सिरी ए” मा सुखद सुरुवात भएकाे छ ।

युभेन्टसले १३औँ मिनेटमा कुलुसेभ्स्कीको गोल अग्रता लिएको थियो । ११औँ मिनेटमा आरोन राम्सेको पासमा रोनाल्डोले हानेको प्रहारलाई साम्पडोरियाका गोलरक्षक इमिल ओउडेरोले बचाए । २४औँ मिनेटमा राम्सेकै पासमा रोनाल्डोको शक्तिशाली प्रहार बारमा लागेर बाहिरिँदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुकेको थियो । युभेन्टसले दोस्रो गोलको लागि ७९औँ मिनेटसम्म कुर्नु परेकाे थियो । युभेन्टसको लागि पोस्ट नजिकबाट लियोनार्दो बोनुचीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

धेरै प्रयासपछि आरोन राम्सेको पासमा रोनाल्डोले ८८औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० को जित सुनिश्चित गरे । जितसँगै युभेन्टसले लिगमा पहिलो जित दर्ता गर्दै ३ अङ्क जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *