काठमाडौँ । चीनका राष्ट्रपति सी चिन फिङ्गले नेपाल–चीन सम्बन्धकाे विकासमाथि आफूले उच्च ध्यान दिएको बताएका छन् । नेपालको राष्ट्रिय दिवसको अवसरमा समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै राष्ट्रपति सीले सो कुरा बताएका हुन् ।
राष्ट्रपति सीले नेपाल–चीन सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुबै देशका जनतालाई अझ फाइदा पुर्याउने इच्छा लिएको पनि बताएका छन् । गत वर्ष उनी र राष्ट्रपति भण्डारीबीच भएका भ्रमण आदानप्रदानकाे उनले स्मरण गरेका छन् । उक्त भ्रमणबाट दुबै देशबीच स्थापित दौत्य सम्बन्ध रणनैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको उनले बताएका छन् । राष्ट्रपति सीले यस वर्षयता कोरोना भाइरस महामारीविरुद्ध दुबै देशले मिलेर लडेबाट नेपाल र चीनबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उल्लेख गरेका छन् ।
यसैगरी चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै नेपालको राष्ट्रिय दिवसको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री लीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएकाे बताउँदै केही वर्षयता दुबै पक्षले विभिन्न क्षेत्रका सहयोगलाई स्थिररूपमा अघि बढाएको उल्लेख गरेका छन् । उनले चीनले नेपालसँग महामारीको विरूद्धमा मिलेर संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रका सहयोगलाई बढाएकाे बताए । चीन र नेपालबीचकाे विकास तथा समृद्धिउन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई अझ गहन पार्ने चीनकाे इच्छा रहेकाे पनि उनले बताएका छन् ।
