कोरोनाविरुद्धको खोप लिने पहिलो नेपाली भए डा महेश श्रेष्ठ

फाेटाेः बद्री केशीकाे फेसबुकबाट

काठमाडौँ । रुसमा बस्ने डा महेश श्रेष्ठ कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन लिने पहिलो नेपाली भएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले राजधानी मस्कोमा कार्यरत ६१ वर्षीय डा श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको भ्याक्सिन लिएको जानकारी दिएका हुन् ।

मस्को सरकारले पहिलो चरणमा भ्याक्सिन दिने घोषणा गरेका ३० हजार जना मध्येमा डा श्रेष्ठ छानिएका थिए । नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो ।

कोरोनाविरुद्धको भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध भ्याक्सिन लिने पहिलो भाग्यमानी नेपाली भएको उल्लेख गर्दै डा श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

पहिलो खोपको २१ दिनपछि उनलाई दोस्रो खोप दिइने छ । निःशुल्क उपलब्ध दुबै डोजको खोप लगाएपछि दुई वर्षसम्म कोरोना भाइरसबाट सुरक्षित रहने बताइएको छ ।

(डा श्रेष्ठकाे फाेटाे उपाध्यक्ष बद्री केशीकाे फेसबुकबाट लिइएकाे हाे ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *