प्रज्जवल थापा ।
आइपिएल २०२० को पहिलो खेलमा चेन्नाई सुपर किङ्स विजयी भएको छ । शनिबार भएको खेलमा मुम्बई इन्डियन्स ५ विकेटले पराजित भएको हो ।
अबुदावीको सेख जायद रंगशालामा भएको खेलमा चेन्नाईले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दिँदा मुम्बईले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । मुम्बईको लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै डि ककले ३३ रन बनाउँदा ओपनर तथा कप्तान रोहितले १२ रन जोडे । सूर्यकुमार यादवले १७, हार्दिकले १४ र पोलार्डले १८ रन बनाउँदा अन्य खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । चेन्नाईको लागि लुङ्गी निग्दिले सार्वाधिक ३ विकेट लिँदा दीपक चहार र जडेजाले २/२ विकेट लिए । यस्तै साम कुरान र चौवलाले समान १/१ विकेट लिए ।
१६३ रनको विजय लक्ष्य पाएको चेन्नाईले राम्रो सुरुवात गर्न सकेन । ६ रन बनाउँदा दुई विकेट गुमाएको चेन्नाईको इनिङ्स डुप्लेसी र रायाडुले सम्हालेका थिए । ओपनरद्वय विजय १ र वाट्सन ४ रनमा आउट भएका थिए। तेस्रो विकेटको लागि डुप्लेसी र रायडुले ११५ रनको साझेदारी गर्दै चेन्नाईलाई जित तर्फ धकेलेका थिए ।
डुप्लेसी ४४ बलमा ५८ रन बनाउँदै नट आउट रहे भने टोलीका सार्वाधिक रन बनाएका रायडुले ४८ बन खेल्दै ७१ महत्वपूर्ण रन जोडे । उनले ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै जडेजाले १० र साम कुरानले १८ रनको योगदान गरे । मुम्बईको लागि बोल्ट, पेट्टिन्सन, बुम्रा, कुर्नाल पाण्डेय र राहुल चाहरले १/१ विकेट लिए ।
जितसँगै चेन्नाईले २ अङ्क जोडेको छ । आज हुने खेलमा दिल्ली क्यापिटल्सले किङ्स ११ पन्जावको सामना गर्नेछ ।

Ramro ..lekhai ko sil saili Ra swobhab ekdamai ramro xa????