काठमाडौँ । बेइजिङस्थित नेपाली राजदूताबासले संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर चीनमा रहेकाे बौद्धिक नेपाली समुदायसँग अन्तर्क्रिया गर्दै सुझाव संकलन गरेको छ । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले बौद्धिक नेपाली समुदायले दिने सुझावहरु संकलन गर्दै विदेशमा रहेकाे बौद्धिक शक्तिलाई नेपाल भित्र्याउन पहल गर्ने उद्देश्यले अन्तर्क्रियासहितको कार्यक्रम आयोजना गरिएको बताए ।

सान लिथुनस्थित राजदूताबासमा आयोजित कार्यक्रममा चीनका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विज्ञ, प्राज्ञ, अनुसन्धनकर्ता, अध्येता गरी ३० सहभागीहरुले आ–आफ्ना अनुभवहरु साटासाट गर्दै नयाँ संविधानपछि नेपालमा स्थिर सरकार बनेकाले सक्दो प्रयासमा विकास निर्माणको बाटोमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा मोबाइल प्रविधिको विकास बारेमा राकेश ताम्राकार, नेपाल–चीन अनुसन्धान सहर्कायका बारेमा डीबी कट्टेल, बाँदरले जनसमुदायमा निम्त्याएको द्वन्द्वबारे सबिना कोइराला र एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीका अर्थशास्त्री आलोकरा पाण्डेले कोभिड १९ पछिको नेपाली अर्थतन्त्र तथा पिएचडी गरिरहेका कुलराज राईले संक्रामक रोगलगायतबारे चर्चा गर्दै नेपालका लागि सुझावहरु प्रस्तुत गरेका थिए ।

बेइजिङस्थित नेपाली दूताबासले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बेइजिङ मै रहेका झण्डै ७० जना नेपालीमाझ राष्ट्रिय दिवस मनाएको हो । अघिल्लो पटक चिनियाँ अधिकारी तथा विदेशी नियोगका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरी मनाउने गरिएकाे थियो ।

फाेटाे साैजन्यः नेपाली राजदूताबास बेइजिङ
