अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको महासभालाई भिडियोमार्फत सम्बोधन गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्यागेका ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले बताएका छन् । संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो । उनले राष्ट्रसंघीय ७५औँ महासभामा राष्ट्रपति ट्रम्पले भिडियोमार्फत सम्वोधन गर्ने तयारी भएको पनि स्पष्ट पारे । संयुक्त राष्ट्रसंघको महासभा गत मंगलबारदेखि शुरु भएको र यही सेम्टेम्बर ३० सम्म चल्ने तय भएको छ । महासभामा अहिले उच्चस्तरीय विभिन्न अन्तरक्रिया तथा छलफलहरु भइरहेको अधिकारीहरुले जनाएका छन् ।

महासभामा विश्वका ११९ जना राष्ट्र प्रमुख र ५४ जना सरकार प्रमुखहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मध्य अगस्टमा राष्ट्रपति ट्रम्पले महासभास्थलमै पुगेका आफू सहभागी हुने योजना रहेको पत्रकारहरुसँग बताएका थिए । तर त्यो योजना अहिले परिवर्तन भएको हो । कोरोनाभाइरसको महामारीका कारण विश्वभरी नै नकारात्मक असर गरिरहेका बेला पनि विद्युतीय माध्यमबाट महासभा सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *