कोरोना कहर : उत्पादनको बजारीकरण नहुँदा महिला उद्यमी मारमा

काठमाडौँ । कोभिड १९ को महामारीका कारण महिला उद्यमीहरु मारमा परेका छन् । लामो समयको बन्दाबन्दी र कतिपय जिल्लामा जारी निषेधाज्ञाका कारण महिला उद्यमीका उत्पादन र बजारीकरणमा समस्या भई बैंकको ऋण, घरभाडा र कर्मचारी तलब वितरणमा कठिनाइ उत्पन्न भएको महिला उद्यमी महासंघ नेपालले जनाएको छ ।

महासंघले आज भर्चुअलरुपमा आयोजना गरेको पत्रकार अन्तरक्र्रियामा संस्थाका अध्यक्ष रीता सिंहले सरकारले आफूहरुका लागि सहुलियत ऋण र बजारीकरणमा सहजीकरण गरी महिला उद्यमीको उत्थान गर्नुपर्ने बताइन् । कोभिड १९ को महामारीपछि महिला उद्यमीका क्षेत्रमा परेको प्रभावबारे गरिएको सर्वेक्षणमा उत्पादित सामानसमेत बजारमा जान नसकी भण्डारमा थुप्रिएको, सूचना प्रविधिमा सीमित पहुँचका कारण पर्याप्त सञ्चार आदानप्रदान हुन नसकेको जस्ता कारणले महिला उद्यमीहरु मानसिक तनावमा समेत परेको पाइएको छ । अध्यक्ष सिंहले सरकारले तथ्यमा आधारित लैंगिक उत्तरदायी बजेटको कार्यान्वयन गरी महिला उद्यमीलाई सहयोग गर्न ध्यानाकर्षण गराइएको बताइन् ।

विसं २०६० मा स्थापित महासंघमा एक सय २४ सदस्य र ५० जिल्ला समिति क्रियाशील छन् । महासंघले डिजिटल र आर्थिक साक्षारताका साथै महिला उद्यमीहरुको सकारात्मक सोच विकास तथा क्षमता अभिवृद्धिका लागि सञ्जालीकरण र पैरवी गर्दै आएको महासंघका कार्यकारी निर्देशक अनामिका सिंहले जानकारी दिइन् । सञ्चारिका समूहको अध्यक्ष नितु पण्डितले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको र महिला उद्यमी तथा विभिन्न पेशाका महिलाहरु थप मारमा परेकाले उनीहरुलाई नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *