न्यूजील्याण्ड अहिले दशकौँ यताको सबभन्दा खराब आर्थिक मन्दीको मारबाट गुज्रिरहेको छ । कोभिड १९ महामारीविरुद्ध लगाइएका कडा बन्देजहरूका कारण अर्थतन्त्र धरमराएको छ । यसअघि महामारी नियन्त्रणमा पाएको सफलताका कारण न्यूजील्याण्ड प्रशंसित थियो ।
अप्रिलदेखि जुनको अवधिमा न्यूजील्याण्डको कुल गार्हस्थ उत्पादन जीडिपी १२.२५ ले घटेको पाइएको छ । लकडाउन तथा सिमानाका बन्दका कारण अर्थतन्त्र प्रभावित भएको बताइन्छ । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटयता न्यूजील्याण्डको यो पहिलो आर्थिक मन्दी हो भने वर्तमान आर्थिक हिसाबकिताब प्रणाली स्थापना गरिएको सन् १९८७ यताकै यो सबभन्दा खराब गिरावट हो ।
तर सरकारले महामारी नियन्त्रणका लागि चालेका प्रभावकारी कदमका कारण खराब अवस्थाबाट अर्थतन्त्र छिट्टै सुध्रने आशा गरेको छ । पचास लाख जनसङ्ख्या भएको न्यूजील्याण्ड छोटो समयको निम्ति भाइरसमुक्त घोषित भएको थियो । अहिले त्यहाँ थोरै सङ्क्रमण पाइएको छ र हालसम्म २५ जनाको कोभिड(१९ का कारण ज्यान गएको छ ।
आगामी महिना हुने चुनावमा अर्थतन्त्र प्रमुख मुद्दा बन्ने देखिन्छ। अगस्टमा सङ्क्रमण बढेपछि चुनाव केही पछाडि सारिएको थियो । देशको तथ्याङ्क कार्यालय स्ट्याट्स न्यूजील्याण्डका प्रवक्ता पाउल पास्कोले मार्च १९ देखि लागु गरिएका विभिन्न उपायहरूका कारण अर्थतन्त्रका केही क्षेत्रमा ठूलो प्रभाव परेको छ । प्रधानमन्त्री जेसिन्डा आर्डर्नको सरकारले महामारीविरुद्ध पाएको सफलताका कारण आर्थिक समस्यापनि चाँडै सल्टने बताएको छ ।
अर्थमन्त्री ग्र्यान्ट रोबर्टसनले जीडीपीका आँकडा सोचेभन्दा राम्रै देखिएको र आगामी दिनमा बलियो सुधार हुने बताए । कतिपय अर्थविद्हरूले पनि छिट्टै सुधार हुने अनुमान गरेका छन् । वरिष्ठ अर्थशास्त्री माइकल गोर्डनले कीर्तिमान तोड्ने गरी भएको गिरावटपछि अब सेप्टेम्बरको त्रैमासिक अवधिमा कीर्तिमान तोड्ने गरी सुधार हुने अपेक्षा रहेको बताए ।
तर बुधवार प्रकाशित प्रक्षेपणमा धेरै मात्रामा कर्जा रहेको र निरन्तरका खलबलीले सुधारमा ढिलाइ हुनसक्ने सङ्केत गर्छ । विपक्षी नेशनल पार्टीले सरकारमाथि व्यावहारिक हुन नसकेकोका कारण खराब असर परेको आरोप लगाएको छ । छिमेकी अस्ट्रेलियामा भन्दा न्यूजील्याण्डमा धेरै आर्थिक असर परेको देखिएको छ ।
