फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले पहिलो जित दर्ता गरेको छ । बुधवार राति भएको खेलमा पिएसजीले मेट्सलाई १-० ले हराएको थियो ।
लिगमा पहिलो जितको लागि पिएसजीलाई तेस्रो खेलसम्म कुर्नुपर्यो । पिएसजीलाई जित दिलाउन दोस्रो हाफको इन्जुरी समयमा जिलिएन ड्रेक्सलर गोल गरे । निलम्बनमा रहेका नेयमार बिना पिएसजी खेलमा उत्रिएको थियो । खेलको ६५ औं मिनेटमा पिएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बाँकी समय पिएसजी १० खेलाडीमा सीमित भएर खेलेको थियो ।
कोरोना भाइरसको कारण अघिल्लो दुई खेल गुमाएका गोलकिपर किलोर नाभास, डिफेन्डर मार्किन्होस र फरवार्ड मौरो इकार्डीलाई बुधबारको खेलमा उपस्थित थिए । जितसँगै पिएसजीले अङ्क तालिकामा पहिलो ३ अङ्क जोडेको छ ।
