ग्राहकको भेषमा तरकारी बजारमा मन्त्रीको छड्के, व्यापारीले मन्त्रीलाई नै ठगेपछि….

काठमाडौँ । तोकिएभन्दा महँगो मुल्यमा प्याज बेचेको सूचना पाएपछि लगनखेलस्थित कृषि तथा तरकारी बजारमा बुधबार बिहानै पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई तरकारी व्यवसायीले आफूहरुले बल्खु र कालिमाटी बजारबाट ल्याउँदा नै महँगो परेको जवाफ दिएपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे ।

मुखमा मास्क भएको तथा नजिकै सुरक्षाकर्मी पनि नभएका कारण उनलाई व्यापारिले चिन्न सकेनन् । मन्त्रीले प्याज किन्‍न लाग्दा ४८ रुपैयाँमा मिलिरहेको प्याज व्यापारिले मन्त्रीलाई १ सय २० रुपैयाँसम्ममा बेचे । व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी सक्रिय भयो । अनुमगनका क्रममा बल्खुस्थित तरकारी बजारका चार जना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेकाे छ । ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० रुपैयाँमा बेचेको पाइएपछि प्रहरीले व्यापारीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट प्याज आयात बन्द भएपछि बजारमा प्याजको मुल्य ह्वात्तै बढाइएको छ । दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेर आन्तरिक माग धान्‍न भन्दै भारतले सोमबारबाट प्याज निकासी रोकेको हो ।

फाेटाे : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *