पोखरा । पोखरा महानगरपालिकाले सडकबाट उद्धार गरेर बालगृहमा राखेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिकाले झोला, कापी, कलम र स्वीटर वितरण गरेको हो ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहमा रहेका बालबालिकालाई सामग्री वितरण गरेकी थिइन् । कोरोना भाइरसको संक्रमणसँगै सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेपछि पोखराका विभिन्न ठाँउबाट उद्धार गरि अन्नपूर्ण गाँउपालिका लेवाडेमा रहेको चिल्ड्रेन नेपालको बाल गृहमा राखेको छ । बाल गृहमा १८ जना बालबालिका रहेका छन् ।
छ महिनादेखि उनीहरुको सम्पूर्ण खर्च पोखरा महानगरले गरेको छ भने आवासका लागि भवन चिल्ड्रेन नेपालले उपलब्ध गराएको छ । उद्धार गरिका बालबालिका मध्ये केहीले पढने इच्छा ब्यक्त गरेकाले उनीहरुलाई पढने वातावरण बनाउन महागनरले तयारी गरेको उपप्रमुख गुरुङले बताइन् । उनले केहीलाई सीप सिकाएर स्वरोजगार बनाएर परिवारमा पूर्नस्थापित गराउने गरी छलफल भैरहेको जनाकारी दिइन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेलले बाल दिवसको अवसरमा अन्य औपचारिक कार्यक्रम गर्नुको सट्टा महानगरले उद्धार गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताइन् ।
