राजदूत पाण्डेले चीनको परराष्ट्रमन्त्रालयमा भेटे उपमन्त्री ल्वो

काठमाडाैँ । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले आज त्यहाँका उपविदेशमन्त्री ल्वो चाओ हुईसँग भेटवार्ता गरेका छन् । दुई महिनाअगाडि बेइजिङ पुगेका राजदूत पाण्डेले आज बिहान परराष्ट्रमन्त्रालयको एशियाली विभागस्थित उपमन्त्री ल्वोकै कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।

करिब एक घण्टासम्म चलेको भेटवार्तामा राजदूत पाण्डेले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणमा चीन सकारकारबाट नेपाललाई प्राप्त सहयोगको लागि धन्यवाद दिएका थिए । उनले गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको ऐतिहासिक राजकीय भ्रमणको स्मरण गर्दै सो अवसरमा दुबै देशबीच सम्पन्न सन्धि सम्झौताहरुको कार्यान्वयमा जोड दिनुपर्ने बताएका थिए ।

भेटमा सहभागी नेपाली दूताबासका मिनिष्टर शुशीलकुमार लम्सालका अनुसार कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणमा नेपाल र चीनबीच भएका सहयोग एवम् आदानप्रदानलाई थप गति दिने विषयमा पनि छलफल भएको थियो । अहिलेसम्म दुवै मुलुकका उच्चस्तरमा मतैक्य भएका विषयहरुलाई व्यवहारमा उतार्दै तिनीहरुको कार्यान्वय गर्ने विषयमा छलफल भएको थियो । क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा नेपाल र चीनबीचको सहकार्यलाई अझै प्रगाढ बनाउँदै निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो ।

चिनियाँ उपमन्त्री ल्वोले चीनको परराष्ट्र नीति र वर्तमान अवस्थाको बारेमा परिचय दिएका थिए । सो अवसरमा उनले चीन र अमेरिका सम्बन्धको पछिल्लो अवस्था एवम् चीन र भारतबीच देखा परेको असमझदारीका बारेमा पनि जानकारी दिएका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नियुक्त भएको लामो समय राजदूत पाण्डे नेपालमै अडकिएका थिए । बेइजिङ पुगेपछि अनलाइनमार्फत ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्रमन्त्रालयमा पेश गरेर उनले कार्यभार सम्हालका थिए । चिनियाँ परराष्ट्रमन्त्रालयका अधिकारीसँग राजदूतका रुपमा पाण्डेको पहिलो प्रत्यक्ष भेट हो ।

फाेटाे साैजन्यः नेपाली राजदूताबास बेइजिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *