देश अधिनायकवादतर्फ अघि बढेको लोहनीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र सनातन सापेक्ष हिन्दु राष्ट्रको मुद्दा लिएर अघि बढ्दा जनताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

‘राजसंस्था र सनातन सापेक्ष हिन्दु राष्ट्रका बारेमा कुनै संझौता हुन सक्दैन,’ राप्रपा अध्यक्षले मंगलबार भने ।
बेलायत, जापान, थाइल्याण्ड जस्ता राष्ट्रहरुले राजसंस्था सहितको प्रजातन्त्र अभ्यासमा गरीरहेको बताउँदै, नेपालको विशिष्ट परिवेश र भौगोलिक परिस्थितिबीच एकताको प्रतिक र नैतिक बलको रुपमा राजसंस्था आवश्यक रहेको बताए ।

शासन भने जनताले गर्ने, जनताको प्रतिनिधिले गर्ने कुरा लोहनीले एक टेलिभिजन कार्यक्रममा विचार राख्दै प्रष्ट पारे । धर्मको नाममा देशमा जारी विकृति अन्त्य गर्न, पाँच हजार वर्ष पुरानो नेपाली सभ्यता जगेर्ना गर्न क्रियाशील रहेको उनले बताए । विश्वका ठूल्ठूला धर्म, हिन्दु धर्म र बौद्ध धर्म जन्मेको देश, श्रोत केन्द्रको रुपमा रहेको देशको मौलिक पहिचान बचाएर राख्नु पर्दछ, लोहनीले भने ।

दुई राप्रपाको एकीकरणको हकमा एजेण्डा र सिद्धान्तबारे कुनै समस्या नरहेको, दोस्रो पुस्ताका नेताहरुले समेत एकताका लागि सकारात्मक पहल गरीरहेका बताउँदै लोहनीले भने, ‘पार्टी दर्ताको हकमा प्राविधिक सवाल मात्र हो, त्यो पनि चाँडै समाधान हुन्छ ।’

राप्रपाको गाई भएको झण्डा, राप्रपा (संयुक्त) को हलो चुनाव चिन्ह मिलाएर जाने भन्ने अवस्था हो । तर यो सबै कसै व्यक्तिले होइन, निक्र्योल गर्ने संस्था भनेको निर्वाचन आयोग नै हो, उनले भने ।
राष्ट्रिय आवश्यकता पूर्ति गर्न, वैकल्पिक शक्तिको रुपमा देशको समस्या सम्बोधन गर्न राप्रपा (संयुक्त) र राप्रपा एक भएको उनले प्रष्ट पारे ।

विकसित राष्ट्रिय राजनीतिप्रति टिप्पणी गर्दै अध्यक्ष लोहनीले भने, स्थीर सरकार हुँदा स्थायित्व र प्रगति आउछ भन्ने जनअपेक्षा थियो तर अहिले सत्तारुढ दलले व्यवहारमा त्यो सोच गलत साबित गरिदिएको छ ।

‘जनअपेक्षा विपरीत बरु स्थीर सरकार आएपछि कसैले केही गर्न सक्दैन, जति लुटे पनि हुन्छ भन्ने अवस्था आयो । यस्तो प्रवृत्तिबारे विश्वव्यापी अनुभव र अध्ययन पनि छ । यस्तो आचरणलाई मैले बहुदलीय जनवादी सामन्तवाद भन्ने गरेको छु, अहिले यसै अवस्थाले जरा गाढेको छ,’ उनले भने ।

राप्रपा अध्यक्ष लोहनीले देश विस्तारै, विस्तारै अधिनायकवादतर्फ अघि बढेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *