-अनुज श्रेष्ठ
समयः सन् २०२१ फेब्रुअरी ६ तारिख शनिबार
स्थानः त्रिभुवन विमानस्थल, पर्यटक आगमन क्षेत्र
चिनियाँहरुको महान वसन्त चाड अर्थात् चिनियाँ नयाँ वर्ष मुखैमा थियो । नेपालमा चिनियाँ पर्यटकहरू यस सिजनमा बढ्ने भएकाले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायहरु यस पिक सिजनका बेला ब्यापक तयारीमा व्यस्त थिए । यस्तो तयारी विमानस्थलको पर्यटन आगमन क्षेत्रमा पनि स्पष्ट देखिन्थ्यो । यस वर्ष चिनियाँ पर्यटकहरुको व्यापक बुकिङ भएकोले होला मलाई पनि पथप्रदर्शन गर्ने जिम्मा यस वर्ष मिलेको थियो । आफूँले जानेको भाषा र नेपालको साँस्कृतिक र पर्यटकीय स्थलहरुको आफ्नो ज्ञानलाई यस पटक सदुपयोग गर्न पाउने भएकोमा म विमानस्थलमा ब्यग्रताका साथ पर्यटकहरुको प्रतिक्षामा थिएँ ।
गएको वर्ष कोभिडको महामारीका कारण थलिएको नेपाली पर्यटन उद्योगलाई यस वर्ष पर्यटकहरुको बृद्धिले ठूलो हैसला मिलेको स्पष्ट देखिन्थ्यो । यो बृद्धि त्यसै प्राप्त भएको भने अवश्य होइन । कोभिडको कारण नेपाली राजनीतिमा पनि ठूलै परिवर्तन आयो । पहिलेका सरकार असफल भएकोले जनताको दवावबाट नयाँ चुस्त युवाहरूको सरकारले यति राम्रो नीति ल्याईदियो कि पर्यटन क्षेत्रमा यसले धेरै सकारात्मक प्रभावहरु आउन शुरु भएको छ ।
महाभुकम्पअघि म पनि पर्यटन क्षेत्रमै काम गरेको अनुभवी पर्यटक पथप्रदर्शक थिएँ तर अहिले कोभिडको कारण यस पेशामा पनि व्यापक परिवर्तन आइसकेको छ । अब पथप्रदर्शकले भाषा, धर्म संस्कृति, भुगोल, बनस्पती विज्ञानका फ्लोर फुना, ईतिहास, बास्तुकला, ललितकला आदिको साथै स्वास्थ र संक्रमण जोखिम सम्बन्धि ज्ञानको तालिम पनि लिनु पर्नेभयो । मैले पनि यस संक्रमणको जोखिम र बच्ने उपाय सम्बन्धि तालिम लिएपछि मात्र मेरो पुरानो पथप्रदर्शक प्रमाणपत्र नविकरण भई म अहिले यस पेशालाई निरन्तरता गर्न योग्य भएको छु ।
घडिमा ९ः१५ भएको थियो । मोवाईलमा समय हेर्दै थिएँ । वीच्याटमा भ्वाईस कल आयो । कल गर्ने चिनियाँ टुर लिडर रहिछन् । अब सम्वाद शुरु हुन्छ, “नि हाव । म टुर लिडर लि छिङ्ग । नेपाली नाम माया । हामी विमानस्थलको क्वारेन्टानको प्रकिया पुरा गरेर अध्यागमनतिर जाँदैछौँ । सबै पर्यटकहरुको स्वाब संकलन गर्नुपर्ने भएकाले अलि समय लाग्यो । तर व्यवस्थापन राम्रो रहेछ खासै दुःख कष्ट केही भएन । शायद ३०, ४०मिनेटभित्र मै विमानस्थलबाट निस्कन सकिएलाँ । कृपया तपाईं, चालक र अरु सहचारीहरुको स्वास्थ रिपोर्टको फोटो पठाईदिनु होला ।”
यस वर्ष टुर ह्यानडलिङको नयाँ विस्तृत प्रोटोकल पर्यटन विभागले बनाएको छ र यसको उद्देश्य पर्यटन क्षेत्रबाट नेपालमा संक्रमण फैलन नदिनु हो । यसको मुख्य उद्देश्य पर्यटक पनि सुरक्षित हुने, पर्यटनसँग सम्बन्धित जनशक्ति पनि सुरक्षित रहने र पुरै पर्यटन उद्योगलाई नै संरक्षण गर्नु रहेछ। म, चालक र सहचालक तीनजना पर्यटकहरुको प्रत्यक्ष सम्पर्कमा आउने नेपाली टुर ह्याण्डल टोली भएकोले टुर अपरेट गर्नु पाँच दिनअगाडिबाटै क्वारेन्टाईनमा बसेको प्रमाणपत्र र तीन दिनअगाडि पिसिआर परीक्षण गरि पिसिआर नेगेटिभको रिपोर्ट टुर लिडरलाई अनिवार्य बुझाउनु पर्ने प्रोटोकल भएकोले मैलै त्यसै अनुरुप हामी तीनैजनाको रिपोर्ट विच्याटबाट उनलाई पठाइदिएको थिएँ ।
मोवाईलमा फेरि घन्टी बज्यो, हाम्रो टुरको बसचालकले गरेका रहेछन् । गुरुजीले सम्वादको शुरुवात गर्दै भने, “सर, प्लेन त ल्यान्ड गरिसकेको हैन ? अब कति समय लाग्ला ? यहाँ बसमा हामीले पुरै निर्मालीकरण (डिसइन्फेक्टेन्ट) गरिसकेका छौं । पानी, मास्क, फेस सिल्ड र स्यानिटाईजर सबै सिटहरुमा तयारी अवस्थामा राखिसक्यौँ । पर्यटकहरु बाहिर निस्कने बित्तिक्कै एक कल गर्नु होला । हामी पूरै तयारीमा छौँ ।” हाम्रो चालक र सहचालकले पनि यस वर्षको टुरको लागि योग्य हुन संक्रमण रोकथाम सम्बन्धि तालिम प्राप्त गरेका छन् । बसको निर्मलीकरणको जिम्मेवारी पनि उनीहरुकै काँधमा आएको छ । बसमा प्रवेश गर्नुपूर्व जुत्ताको तलुवामा स्प्रे डिसइन्फेक्सन गर्नुपर्ने, लगेजहरु पुनः डिसइन्फेक्सन गर्नुपर्ने, लगाएका बाहिरी प्रोटेक्टिभ लुगा, मास्क ,ग्लोभ, फेस सिल्ड सुरक्षितरुपमा डिस्पोज गर्नुपर्ने जिम्मा उनीहरुकै भएकोले आवश्यक तयारीको समयको लागि मसँग जानकारी माग्न खोजेका रहेछन् ।
त्रिभुवन बिमानस्थलको यात्रु आगमन क्षेत्र यो वर्ष बढि नै व्यवस्थित र भव्य लाग्यो । पर्यटन भ्रमण वर्षको लागि विशेषरुपमा बनाईएको यस बिमानस्थलको आगमन क्षेत्र यस वर्ष मात्र राम्ररी उपयोग हुन सकेको हो । विगतमा पर्यटकहरु विमानस्थलबाट बाहिर आउँदा ट्याक्सी चालकहरुबाट एक किसिमको लुछाचुड जस्तै पनि हुन्थ्यो, अव्यवस्थित पर्यटक ट्याक्सी पार्किङ्गले र अनावश्क मानिसहरुको भीडभाडले गर्दा आफ्ना पाहुनाहरु भेटाउनै पनि समस्या हुन्थ्यो । यस पटक भने यस्तो समस्या केही देखिएन । तर मलाई खड्किएको एउटा कुरा भने पहिलेको जस्तो साथीभाइहरुको जमगट र गफिने वातावरण यस पटक नभएकोले अलि न्यास्रो भने लाग्यो ।
पहिले यसै पेशामा हुँदा विमानस्थलमा यात्रु कुर्ने बेला सबै चिनजानका उही पेशाका साथीभाइहरु सँग भेटघाट गर्ने अवसर मिल्थ्यो, सँगै चिया कफि पिउने र आआफ्नो यात्रा अनुभवहरु सुनाउँदै धैरै नै रमाइलो गरिन्थ्यो । यस वर्ष प्रोटोकलको कडा नियम पालना गर्नु पर्दा सामाजिक दुरी राख्नुपरेको छ र निर्धारित आफ्नो ठाउँ जसमा दुई बाई दुई मिटरको पहेँलो घेरा कोरिएको छ । त्यसैभित्र बसेर प्रत्येक पथप्रदर्शकहरुले आ–आफ्ना पाहुनाहरु कुर्नुपर्ने व्यवस्था गरिएको छ ।
मोवाईलमा फेरि वीच्याटको घण्टी बज्छ, यसो मोवाईल हेर्छु, धेरै पुरानो साथी जो पथप्रदर्शक पनि हुन्, उनले कल गरेका रहेछन् । वीच्याटको भ्वाईस कलवाट उनको स्वर सुनिन्छ “के छ ? धैरै वर्ष भो नभेटेको, टुरग्रुप फेरि लिएको कि आफ्नै पाहुनाहरु हो ? कति जनाको हो ? कुन प्लेनबाट आउँदै हो ? ग्वाङजोउको हो ?” मलाई अचम्म लाग्छ, शायद यो साथी यतै हुनुपर्छ । यसले पक्कै मलाई चिन्यो । म उसलाई खोज्न यताउता आँखा डुलाउँछु, ऊ देखा पर्दैन र म उसलाई मेवाइलबाटै सोध्छु– “कुन ठाउँमा बसेर कुर्दै हो ? सबैजना माक्स र फेस शिल्डमा छन्, चिन्नै गार्हो भो । तिम्रो चाहिँ ग्रुप कति जनाकाे हो नि ? तिम्रो पनि सीजेड (चाइना साउर्दन)बाटै आउने हो ?” अलि टाढाको मेरो जस्तै २ वर्ग मिटरको प्रतिक्षालयबाट ऊ मलाई चिच्याएर बोलाउँछ । यसपटक चाहिँ मैले उसलाई ठम्याउन सकेँ । सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले आज पहिलेको जस्तो भेटघाट नहुने भो र विच्याटबाटै केही बेर गफिने हामीले विचार गर्यौं ।
मेरो १५ जनाको ग्रुप भएको उनलाई सुनाएँ, समूहमा सबै नै ग्वाङजोउका बासिन्दाहरु थिए जसमा ६ र ४ जनाको दुईवटा परिवार, दुईवटा जोडी र १ जना टुर लिडर थिए । मेरो ग्रुपको भ्रमण तालिकामा काठमाडौँ, पोखरा र चितवन गरि तीन गन्तब्य जाने योजना थियो । तर, पोखराबाट १० दिने अन्नपुर्ण क्षेत्रतिरको ट्रेकिङको लागि विशेष समय छुट्टाइएको थियो । ती साथीको भने २० जनाको समूहको भोलिपल्टै बिहान सिधैँ लुम्बिनी गई २५ दिन उतै गुम्बामा पूजा गर्ने र मायादेवी मन्दिर क्षेत्रमा ध्यान गर्ने कार्यक्रम रहेछ । यस वर्ष संक्रमणको जोखिमले गर्दा ट्राभल एजेन्सीहरुले पहिलेभन्दा पृथक खालको टुर प्याकेजहरु बनाएका रहेछन् । धेरैजसो ग्रामीण परिवेशमा हाईकिङ र ट्रेकिङमा लग्ने, हिमाल आरोहण गराउने, ध्यान योगा सम्बन्धी एकान्तबास वा रिट्रिट गराउने र जङ्गल सफारी गरि जङगलमै बास बस्ने खालका जङ्गल एडभ्न्चरजस्ता टुरहरु यस वर्ष प्राथमिकतामा परेका रहेछन् । यस्ता किसिमका भ्रमणमा संक्रमणको जोखिम न्युन हुने र ग्रामीण क्षेत्रमा पर्यटनको विकास पनि सँगै हुने भएकाले पर्यटन मन्त्रायलबाटै यस्तो नीति बनेको रहेछ । साथै पर्यटकहरुका हालको माग र रुचिअनुसार मिलेकोले पनि यस्तै प्याकेजहरु बढि बिक्री भएका रहेछन् ।
साथीसँग गफ हुँदैगरेको केहीबेर भएको थियो । मोवाईलमा अर्को कलले हाम्रो गफ टुङ्गयाई दियो । शायद टुर लिडरले गरेको होला भन्ठानेको त पर्यटन विभागबाट पो रहेछ । मोवाईलमा मधुर स्वरकी एउटी महिला बोल्न शुरु गर्छिन् । “नमस्ते, म पर्यटन विभाग विमानस्थल डेस्कबाट । हजुरको १५ जना चिनियाँ अतिथीहरु सबैको अध्यागमन प्रक्रिया सम्पन्न भईसक्यो, सबैको चीनमा गरेको स्वास्थ जाँचको रिपोर्ट हामीले लिएका छौं र एकीकृत गरि समुहकै स्वास्थ रिपोर्ट हामीले तयार गरि प्रमाणित गरिदिएका छौं । हजुरको भ्रमण तालिकामा रहेका सबै होटेलहरु, रेष्टुरेण्टहरु र तपाईँको ईमेलमा पनि सो प्रमाणपत्रको सफ्टकपी हामीले पठाई दिएका छौं । नेपालमा गरिएको परीक्षणको रिपोर्ट आईसकेपछि फेरि त्यस्तै ईमेल सबैलाई पठाउने छौँ । तपाईँलाई प्रोटोकलको सबै जानकारी नै होला । यदि भ्रमण तालिकामा कुनै परिवर्तन आए वा होटेल, रेष्टुरेण्ट हेरफेर भएमा वा गर्नुपरे हामीलाई अनिवार्य जानकारी गराउनु होला ।”
यो वर्ष पर्यटन भ्रमणवर्ष नभए पनि पर्यटन विभागको कार्यशैलीमा भने धेरै नै चुस्तता आएको रहेछ । पहिले पहिले त सरकारी निकायबाट यस्तो कल पाउने कल्पना पनि गरिदैनथ्यो । यस वर्षदेखि नेपालमा आउने पर्यटकहरु अनिवार्य ट्राभल, टुर र ट्रेकिङ अपरेटरहरुको प्याकेजमा आउनुपर्ने नियम बनाईएको छ र हरेक दुई वा दुईभन्दा बढि पर्यटकको समूहमा अनिवार्य पथप्रदर्शक (गाइड) हुनुपर्ने नियम पनि बनाईएको छ । सबै भ्रमण तालिकाहरु पनि पर्यटन विभागको एकीकृत डाटाबेसमा हुने भएकोले पर्यटकको नामावली, पथप्रदर्शकको नाम, होटेल र रेष्टुरेण्ट इत्यादि सबै सूचनाहरु पर्यटन विभागलाई जानकारी हुने व्यवस्था गरिएको छ । यसो गर्नुको उद्देश्य पर्यटन विभागले संक्रमण रोकथामबारे सुपरिवेक्षण गर्नु भए पनि यसले नेपालको पर्यटन सेवालाई पहिलेभन्दा धेरै नै व्यवस्थित बनाईदिएको छ ।
घडीमा अब त ९ः४५ पनि बजिसकेछ, विमानस्थलमा निःशुल्क वाईफाई भएकोले टुर लिडरलाई विच्याट मै कल गरेँ र लगेज लिने ठाउँमा केही समस्या भो कि भनेर सोधेँ । टुर लिडर भने धेरै खुशी हुँदै जवाफ दिन्छिन्, “हामी बाहिर आउँदैछौँ, केही समय मै हामी तपाईं भएको ठाउँमा पुग्छौं ।” सजिलोको लागि मैले पनि आफ्नो स्थानको नम्बर फोटो खिचेरै उनलाई पठाइदिएँ । तर उनी भन्छिन्, “हामीलाई तपाईं बसेको ठाउँको नम्बर पहिल्यै प्राप्त भैसक्यो, यहाँ एक जना स्वयमसेवक पनि हुनुहुन्छ, उहाँले नै हामीलाई तपाईं समक्ष पुग्न मद्दत गर्नुहुनेछ । नेपालको पर्यटन व्यवस्थापन त हाम्रो चीनमा भन्दा पनि उत्कृष्ठ लाग्यो, यो देखेर पाहुनाहरु धेरै खुशी छन्, अहिले हामी सबैजना तपाईँलाई भेट्न धेरै आतुर पनि छौं ।” आज जस्तो नेपाली हुनुमा गर्व मलाई कहिल्यै पनि भएको थिएन । आफ्नो पेशा सुरु नै नभएको बेला मै पाहुनावाट यस्तो तारिफ र खुशी प्रकट हुनुमा मेरोभन्दा मेरो राष्ट्रको नीति र व्यवस्थापकीय कुशलता नै हो । राष्ट्रले कुशल नेतृत्व पाउँदा मात्र यो सम्भव हुने रहेछ । यसले हामीलाई पनि आफ्नो पेशा र व्यवसायमा पनि त्यसैअनुरुप उत्कृष्ट नतिजा दिन उत्प्रेरणा दिने रहेछ ।
पाहुना बाहिर निस्कनै लागेको सूचना चालकलाई दिई मोबाईल गोजीमा राखेको मात्र थिएँ, अर्को गोजीमा दोस्रो मोबाइल फेरि बज्न शुरु भयो । यस पटक फोन गर्ने ट्राभल एजेन्सीको सञ्चालक पो रहेछन् । फोन उठाउने बितिक्कै उहाँले सोध्नुभयाे– “पाहुनाहरुलाई बसमा चढाई सक्नु भएको हो ? विमानस्थलमा केही समस्या त भएन नी ? यसपालीको पाहुनाहरु धेरै भिआईपी हुन है, हामीले अलि विशेष सेवा दिनुपर्छ, कुनै सेवामा कमी हुनुहुन्न, केही परे सिधैँ मलाई सम्पर्क गर्नुहोला, म २४सै घण्टा उपलब्ध हुनेछु ।”
यस किसिमको ट्राभल एजेन्सीसँगको संवाद पथप्रदर्शकहरुको लागि सामान्य कुरो हो । शायद सबै पथप्रदर्शकले गर्ने सबैजसो टुर ग्रुपहरु ट्राभल एजेन्सीबाट भिआईपी नै भनेर गराउने गरिन्छ। सेवा प्रदान गरि मेवा खाने यो पेशामा २४सै घण्टा जस्तोसुकै पाहुनालाई पनि विशिष्ट वा भिआईपी नै मानि सेवा दिनुपर्ने हुन्छ। तर यो वर्ष चाहिँ आउने पाहुनाहरु पहिलेको जस्तो अवश्य हुँदैनन् भन्ने अनुमान चैं मैले लगाईसकेको थिएँ । यस वर्ष हवाईटिकटको मुल्य बृद्धि, होटेल र रेष्टुरेण्टहरुको स्तरमा बृद्धि, भिषा शुल्कमा नेपाल सरकारबाटै पनि कोभिड ट्राभल ईन्सुरेन्सबापत पर्यटकबाट शुल्क उठाईएको, संक्रमण रोकथामको क्रियाकलापका लागि विभिन्न लागतमा बृद्धि आदिले गर्दा टुर प्याकेजको मुल्य पनि यस वर्ष दोब्बर तेब्बरले बढेको छ ।
मुल्य बृद्धिसँगै उच्च आयस्रोत हुनेहरुले नै बढि भ्रमण गर्ने भएकोले त्यसै अनुरुप सेवाको स्तर पनि बृद्धि गर्नु पर्ने चुनौती यस वर्ष पर्यटन क्षेत्रका सबैलाई भएको छ । यस्तैमा म पथप्रदर्शकलाई पनि चुनौती थपिनु स्वभाविकै हुने भयो ।तर महामारीपछिको पर्यटन व्यवसायको अवस्था, जसलाई पोस्ट कोभिड टुरिजम पनि भनिन्छ, यसमा महामारीले त यस वर्ष सकारात्मक प्रभाव ल्याएको महसुस हुँदैछ । आज पाहुनाहरुलाई यहाँ विमानस्थलमा कुर्दै गर्दा नै लाग्न थालिसक्यो कोभिड महामारी अन्त्य पछिको यो वर्ष त वास्तबमा अघोषितरुपमै “नेपाल पर्यटन बर्ष २०२१” पो हुने भएछ ।
(श्रेष्ठ चिनियाँ र अंग्रेजी भाषाका टुरगाइड हुन् ।)