पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माण कार्यको आज स्थलगत निरीक्षण गर्दै उनले कोरोना सङ्क्रमणका बाबजुद पनि विमानस्थलको निर्माण कार्य निरन्तर भइरहेको बताए ।

विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागि रहेको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति अभाव हुन नदिन सरकारका तर्फ्बाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याए ।

सो अवसरमा सांसद विद्या भट्टराई अधिकारीले पोखरालगायत मुलुककै समृद्धिमा महत्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधिन काम समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्रिय सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण कार्य हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए । भौतिक पूर्वाधार निर्माणको काम अधिकाँश सम्पन्न भई सकेको उल्लेख गर्दै उनले उपकरण जडानलगायतका काम बाँकी रहेको बताए ।

विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४ वटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार विमानस्थलको निर्माण कार्यमा हाल १८० चिनियाँ र ९० नेपाली कामदारले निरन्तर काम गरिरहेका छन् । आवश्यक उपकरण जडानका लागि उपकरणसहित थप २०० दक्ष जनशक्ति चीनबाट आउने तयारीमा रहेको मुनाकर्मीको भनाइ छ ।

उनले निर्धारित लक्ष्यअनुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान शुरु हुने विश्वास व्यक्त गरे । कोरोनाका कारण झण्डै छ महिनायता रोकिएका आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान सञ्चालको तयारी भइरहेको उनको भनाइ थियो ।

कोरोना सङ्क्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव परेका कारण तोकिएको मिति भन्दा छ महिना अगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *