बहराइनले पनि इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने

करिब एक महिना अगाडि युएईले इजरालसँग सम्बन्ध सामान्यीकरण गर्ने घोषणा गरेपछि अब बहराइनले पनि त्यसै गर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घोषणालाई ’अर्को ऐतिहासिक घटना’ भनेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ’शान्तिको नयाँ युग’ भनेका छन् ।

घोषणा लगत्तै प्यालेस्टाइनले त्यसलाई ’जेरुसलेम तथा प्यालेस्टाइनका विरुद्ध धोका’ भन्दै बहराइनस्थित आफ्नो राजदूतलाई छलफलका निम्ति फिर्ता डाकेको छ । इजिप्टले घोषणाको स्वागत गरेको छ भने टर्कीले कडा निन्दा गरेको छ । साउदी अरेबियाले कुनै प्रतिक्रिया दिइसकेको छैन ।

प्यालेस्टाइनी समूह हमासले इजरेल बहराइन सम्झौतालाई खराब भनेको छ भने इस्लामिक जिहादले लज्जाजनक भनेको छ । अधिकांश अरब मुलुकहरूले पहिले प्यालेस्टाइनी मुद्दा सल्टिनुपर्छ भन्दै इजरेलसँग सम्बन्ध गाँसेका छैनन् । ३० दिनभित्र इजरायलसँग शान्ति कायम गर्दे दोस्रो अरब देश भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो घोषणा सार्वजनिक गरेका थिए ।

जनवरीमा इजरायल प्यालेस्टाइन द्वन्द्व समाधानका निम्ति मध्यपूर्व शान्ति योजना पेश गरेका ट्रम्पले युएई तथा बाहरेनसँगका शान्ति प्रयासको मध्यस्थता गरेका थिए । इजरायलको सन् १९४८ मा स्थापना भएयता उसलाई मान्यता दिने बाहरेन चौथो अरब देश हो । यसअघि इजिप्ट र जोर्डनले इजरायललाई मान्यता दिइसकेका थिए भने युएईले एक महिना अघि मात्र सम्बन्ध सामान्यीकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *